
फूलपातीमा रिलिज तीन फिल्म, कसको कमाई कति ?


दशैँको फूलपातीमा रिलिज भएका तीनवटै चलचित्रले आकर्षक ग्रसकलेक्सन गरेका छन् । दीपाश्रीको ‘छक्का पञ्जा–५’, विराज भट्टको ‘१२ गाउँ’ र वसन्त निरौलाको ‘ज्वाइँ साब’ले आकर्षक कमाइ गरेका हुन् ।
यी तीनवटा चलचित्रले करिब ४७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेका छन् । ‘१२ गाउँ’ले साढे २३ करोड’, ‘छक्का पञ्जा–५’ले २० करोड र ‘ज्वाइँ साब’ले करिब साढे ३ करोड रुपैयाँ ग्रसकलेक्सन गरेका छन् ।
यो सम्भवत तीन हप्तामा नेपाली सिनेमा बजारबाट भएको ग्रसकलेक्सन अहिलेसम्मकै बढी हो । यी तीनमध्ये ‘१२ गाउँ’ र ‘छक्का पञ्जा’ अहिले पनि चलिरहेका छन् । त्यसैले यी सिनेमाको लाइफटाइम कमाइ भने अझै धेरै हुनेछ ।
यसमध्ये पनि ‘१२ गाउँ’ले हालसम्मकै नेपाली सिनेमाको कलेक्सनको रेकर्ड ब्रेक गर्ने यसका वितरकले दाबी गरेका छन् ।
तर यो वितरकको दाबी हो । चलचित्र विकास बोर्डले बक्सअफिस रिपोर्ट सार्वजनिक नगरेकाले वितरक र निर्माताले गरेको दाबी मात्रै हो । त्यसैले यसको सत्यतामा धेरैले आशंका व्यक्त गर्छन् । सकारात्मक सन्देश जाओस भनेर कलेक्सन रकम बढाउने गरेको स्वयं चलचित्रकर्मीहरू नै बताउँछन् ।
दीपाश्री निरौलाले निर्देशन गरेको सिनेमा ‘छक्का पञ्जा–५’ मा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, निर्मल शर्मालगायत कलाकारको मुख्य भूमिका छ ।
‘१२ गाउँ’लाई विराज भट्टले निर्देशन गरेका छन् । यसमा समीर भट्ट र विराज स्वयं मुख्य भूमिकामा छन् ।
‘ज्वाइँ साब’ वसन्त निरौलाले निर्देशन गरेको चलचित्र हो । यसमा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् । तर, यो चलचित्र अहिले उत्रिसकेको छ ।
प्रतिक्रिया