गाईको पूजा गरी मनाइयो गाई तिहार
नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदैछ ।
घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआज गरेका हुन् । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरुको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । गाई हिन्दु धर्मावलम्वीहरूका लागि पवित्र र महत्वपूर्ण प्राणी हो । आमाले आफ्ना सन्तानलाई दुध खुवाएजस्तै गाईले मानवलाई दुध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रुपमा पुकारिने गरिन्छ । गाईबाट प्राप्त हुने दुध, दही, घ्यु, गहुँत, गोबर आदि प्राचिन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् ।
कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादी दुवै रूपमा प्रयोग हुने गर्छ । प्राचिन कालमा गाई सबैभन्दा महत्वपूर्ण चल सम्पती मानिन्थ्यो । घरमा गाई नभएकाले पशुपतिको गौशाला र अन्य गाई पालन गरेका ठाउँमा गएर गाई पूजा गरेका छन् ।
प्रतिक्रिया