स्थायी बासस्थानको आशामा बित्यो बाढीपहिरो पीडितको एक महिना

अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका वडा नं १२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आएकी छिन् । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आशामा बस्दै दिनगन्ति गरेको एक महिना बढी भयो ।

राज्यले बासस्थान बनाइदिने भन्ने कुराले मनमा आश पालेर बसेका बाढीपहिरो पीडितको एक महिना त्यतिकै वितेको छ । तर अहिलेसम्म उचित व्यवस्थापन समेत नगरेको उनको गुनासो छ । पाँच रोपनी जग्गामा लहलह झुलेको धान सबै सखाप हुनेगरी नजिकै रहेको घरबारसंगै बाढीले बगाएपछि अहिले उनीहरु छिमेकीको घरमा रात विताउँदै आएको छ । ‘खोलाको बाढीले ल्याएर थुपारेको ढुंगा, दाउरा र काठ पन्छाएर भएपनि अन्न फलाउने खेत त बनाउनै पर्‍यो ।’ यत्रतत्र छरिएका काठ र दाउरा टिप्दै उनले भनिन्, ‘आफ्नो भएको जग्गा नै यही हो, अरु विकल्प केही छैन ।’ खाद्यान्न चाही अलिअलि पाईरहेको र केही दिनअगाडि जस्तापाता बाँडेकोले लिएर राखेको उनले सुनाइन् । सरकारले छिट्टै बास बस्ने ठाउँको उचित व्यवस्थापन गरिदिए बाढीले बगाएर खोलासंगै धमिलिएको मन केही भएपनि सफा हुने उनी बताउँछिन् ।

बाढीले ढलाएको घर हेर्दै खोलाको बगरमाथि त्रिपालमा सुकाएको धान सफा गर्दै रहेकी माथिल्लो रोशी बजारका मनकुमारी तामाङले खाने र बस्ने स्थानको सुनिश्चितताको आशामा दिन वितिरहेको बताइन् । पनौतीमा कोठा लिएर बस्दै आएकी उनप्हरु बस्ने घर नै नभएपछि त्यहीको नजिक रहेको जस्ताको सानो टहरामा धान भित्र्याउने सुरसारमा छन् । ‘सधैं त कोठा लिएर बस्न सकिँदैन,’ उनले भनिन्, ‘अब कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको छ ।’ खेती किसानी गरेर जीविको चलाउँदै आएका परिवारको आम्दानीको रुपमा रहेको फर्निचरसमेत घरसँगै बाढीले बगाएपछि एक महिनादेखि घर न कामको जीवन विताईरहेको उनले बताइन् ।

अर्का स्थानीयबासिन्दा मैना तामाङले घर ढलेको पीरसँगै खल्लो गरी विताएको दसैँ पर्व सकिएलगत्तै तिहार नजिक आए पनि घरबार र खाने कमाउने कुनै टुंगो नभएको सुनाइन् ।

सोही ठाउँका नवराज गुरुङले गाउँका युवाहरुलाई ज्यालामा लगाएर बाढीले थुपारेको गेग्रानहरु पन्छाउन थालेका छन् । यसअघि खोलाको बाढी र काम गर्ने मान्छे पनि नपाएको अवस्था रहेकोमा विस्तारै पुरिएको बासस्थान व्यवस्थित गर्न गालेको उनले बताए। ‘बल्ल मान्छेहरुलाई केही फुर्सद हुन थालेपछि पुरेको ठाउँलाई सफा गरेर भल कटाउने ठाउँ बनाउन थालेको हुँ,’ उनले भने ।

दुई तले घर बगाएपछि विचल्लीमा रहेको शंकर तामाङ छिमेकीको घरमा बस्दै आएका छन् । बस्ने घर बनाउन पैसा नै नभएको र खाने अन्नपात संघ संस्थाले वितरण गरेकोबाट चलाइरहेको बताउँदै उनले राज्यले सुरक्षित बस्ने ठाउँको व्यवस्थापन गरिदिने आशामा रहेको जनाए ।

सोही गाउँका अर्का रविन्द्र नगरकोटीले बाढीपहिरो गएको एक महिना वितिसक्दा पनि के कस्तो समस्या छ र खाने बस्नेको अवस्था के कस्तो छ भनेर स्थानीइ सरकार एकपटक पनि सोध्न नआएको गुनासो गरे । सबैचिज बगाएपछि बालबालिकाहरुको पढ्ने ठाउँ र बस्ने स्थानको सुनिश्चितता नभएर समस्यामा परेको उनको भनइ छ ।

स्थानीय राजेन्द्र केसीले व्यक्तिको घरबारी र खेत सबै बगाएपछि विचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन गर्न अपरिहार्य रहेको बताए ।  ‘विपद्पछि उद्धार र राहतसंगै बाटोघाटो त बन्यो, तर उहाँहरुलाई त्यसले खासै छोएको छैन,’ उनले भने, ‘सुरक्षित तरिकाले बस्ने आवास छैन, कमाइ खाने ठाउँ छैन । राज्यले यहीको भूगोललाई छनोट गरेर एकीकृत रुपमा बस्ने आवासको बस्ति व्यवस्थापन गर्न आवश्यक छ ।’ बस्ने घर नै नहुँदा बालेको बिजुली, पुर्‍याएको मोटरबाटो र खानेपानी कसरी उपभोग गर्ने ? ती सबैले नछोएको मनलाई सुरक्षित आवासले मात्रै छुनसक्ने भएकाले राज्यले अब त्यसमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *