चाडपर्वमा अभाव र दुःख बिर्सिदै विपन्न नागरिक
निरन्तर कडा परिश्रम गरे पनि सधैँ गुजाराको चिन्ता हुनेहरू पनि दीपावली पर्वका कारण अचेल हाँसीखुसी देखिन्छन् । काँस (घर छाउने र भित्तामा प्रयोग गरिने एकप्रकारको खर) का होउन् वा बाँसका भाटाका भित्ता । सबैका घर लिपपोत र रङ्गरोगन गरेर चिटिक्क छन् ।
महोत्तरीको दलित बाहुल्य बस्ती आजभोलि यस्तै देखिन्छन् । पर्वको रौनकले लाग्छ, यहाँ अभाव कहीँ छैन । दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने यहाँका विपन्न दलितहरू अभाव र दुःख लुकाएर दीपावली पर्वको रमझममा मन भुलाउँदैछन् ।
‘बरिस (वर्ष) दिनको पवनी (पर्व) हो, दुःख र गरिबीको त जिनगी (जिन्दगी) नै छ, पवनीमा त मन भुलाउनु पर्यो नि,’ भङ्गाहा–४ रामनगरको मुसहरीटोलका ५० वर्षीया पिर्ता सदा भन्नुहुन्छ, ‘अहिले दिवाली (दीपावली), छठ पवनी मुखमा छ, हामी पनि दुःख लुकाएर हाँसीखुसी रमाइलो मनाउँछौँ ।’
सम्पतिका नाउँमा फुसको झुप्रो र हातपाखुरीबाहेक केही नभएका मुसहर दीपावली पर्वमा भने रमाउन कुनै कसर राख्दैनन् । फुसकै भित्ता लिपपोत गरेर टिलिक्क छन् । घरका जहानको काम बाँडिएको छ । कोही माछा मार्न, कोही मुसा खोज्न र कोही घोङही बटुल्न जान्छन् ।
साँझ जम्मा भएको परिकार सबैजना बसेर खाने मुसहरको चलन हुन्छ । झन् चाडपर्वमा त सबै एकठाउँमा जुटेर सँगसँगै खानु यिनीहरूको मुख्य रमाइलो हो ।
हुनेखानेले धनतेरसमा सुनचाँदीका गहना ल्याएहोलान्, धातुका भाँडाकुँडा जोडे होलान् । मुसहर बस्तीमा भने झाडु, धनियाँजस्ता कम मूल्यका सामान ल्याएर पवनी गरिएको सो बस्तीकै हेमनी सदा बताउँछन्। ‘हाम्रो त पवनी भनेको सामान जोड्ने होइन, खाइपिइ रमाउने हो,’ उनले भने ।
जिल्लामा मुसहर, बाँतर, मेस्तर र डोम आर्थिक, सामाजिक, राजनीतिक र अन्य मानवोचित अवसरबाट निकै पर रहेका जाति समुदायका रूपमा चिनिन्छन् ।
यिनीहरुमध्ये प्रायले गिरहत (मालिक)को काम गरेर पाएको बनी (पारिश्रमिक)ले धान्नु गुजारा चलाउने गरेका छन् । आफ्ना अभाव र दुःखबारे कसैप्रति गुनासो नगर्ने यी समुदाय चाडपर्वमा रमाउनभने केही पहिलेदेखि नै तयारी थाल्छन् ।
दीपावली पर्व सुरु हुँदा बस्तीका बालबालिका पनि पर्वविशेषको रमाइलोमा मस्त देखिन्छन् । दीपावली र छठ पर्वका लागि बस्तीबस्तीमा गरिएको सरसफाइ र घरघरै थालिएको तयारीले दुःख र अभाव केही दिनका लागि भए पनि बिर्साएको छ । सबै पर्वको उल्लासमा छन् ।
दलित बस्तीका ससाना नानीहरूका दीपावलीको रमाइलो भनेको ‘हुक्कालोली’ (भाटामा झुत्राझुत्री बाँधेर मट्टीतेलमा चोबेर आगो सल्काइ हातले फनफनी घुमाउने खेल) खेल्नु हो । धनतेरस सम्पन्न गरिएपछि अब दीपावलीको थप रमाइलोका लागि दलितबस्तीका बालबालिका भाटा र झुत्राझुत्री जम्मा गरेर ‘हुक्कालोली’ बनाउन तल्लिन देखिन्छन् ।
धनधान्यकी देवी लक्ष्मीको आराधना गरिने मुख्य विधिको दीपावली र इच्छित कामना पूरा गर्ने छठीमातालाई निष्ठापूर्वक पूजिने छठ पर्व मिथिलाक्षेत्रका मुख्य पर्व हुन् । कात्तिक कृष्णपक्षको अन्त्यमा मनाइने उज्यालोको पर्व दीपावली र शुक्लपक्षको पहिलो साताभित्रै सम्पन्न गरिने छठपर्वको तयारीले सबैतिर उल्लास छाएको छ । सबैतिर देखिने चहकिलो उज्यालोभित्र नै दलित बस्तीमा पनि पर्वको रमाइलो मनाउने तयारी छ ।
कृष्णपक्षको अँध्यारोमा जताततै झिलिमिली पारेर मनाइने उज्यालोको पर्व दीपावली र निष्ठा, श्रद्धा र समर्पण भावले मनाइने छठ मिथिलामा हिन्दू परम्पराभित्रका प्रायःसबै जाति, समुदायले मनाउँछन् ।
‘यी पर्वमा कसैले सामर्थ्य लुकाउँदैनन्, मन खोलेर पर्व मनाउने मिथिला परम्परा छ,’ महोत्तरीको रामगोपालपुर–२ टेङर निवासी तत्कालीन जिल्ला विकास समिति महोत्तरीका उपसभापति ७५ वर्षीय गणेशप्रसाद यादव भन्छन्, ‘के गरिब के धनी सबै आफ्नो शक्तिअनुसार यी पर्व मनाउँछन् ।’
आफ्नो अवस्थाअनुसार दलित बस्तीमा पनि धनधान्यकी देवी लक्ष्मी र इच्छित कामना पूरा गर्ने विश्वास गरिएकी छठीमाताको आराधनाको तयारी गरिएको छ ।
सामान्यतया धनतेरसदेखि भातृद्वितीया (भैयादूज)सम्मको पाँच दिनको यो पर्व यसपालि तिथिको घटबढले एक दिन लम्बिएर छ दिन भएको छ । यमपञ्चकका पाँच दिनमध्ये धनतेरस, लक्ष्मीपुजा, गोवर्धन र भैयादुज (भातृद्वितीया) मैथिल परम्परामा विशेष मानिन्छन् । पर्वको तेश्रो दिन कात्तिक औँसीको साँझ घरको चौदिशा दीपमालिका गर्दै लक्ष्मी स्थापना गरेर पूजाआराधना गरिन्छ ।
मिष्टान्न परिकार खाने र खुवाइने यस पर्वको चौथो दिन गाई/गोरुलाई रङ्गाउने, सिङ् र खुरमा तोरीको तेल लगाइ दिने, नयाँ रङ्गिन दाम्ला फेर्ने र रुचीकर खानेकुरा दिने मैथिल चलन छ । यसै दिन गोवर्धन मनाइन्छ ।
गोवर्धनमा अघि द्वापरयुगमा श्रीकृष्णले गोवर्धन पर्वतको पूजा प्रारम्भ गराउनुभएको परम्परालाई निरन्तरता दिइएको पाका मैथिल बताउँछन् । यसैगरी यमपञ्चकको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले मैथिल परम्पराअनुसार पुजेर टीका लगाइदिदै मिष्टान्न परिकार ख्वाउने चलन छ । हाल पर्वको तयारीमा रहेका दलित बस्तीका चेलीहरू पनि दाजुभाइको सम्झना गर्दैछन् ।
अहिले दीपावली र छठको तयारीमा सबै दुःख लुकाएर लागेका विपन्न बस्तीका दलितमध्येका डोमले पवनीमा राखनधरनलाई चाहिने बाँसका चोया र कप्टेराले बन्ने डाला, छिटी, चङेरासहितका सामान बनाउने काम पाएका छन् । यस कामबाट चाडपर्व टार्ने र वर्षभरिको नगद खर्चको जोहो हुने डोमको विश्वास छ ।
यसैगरी मुसहर, बाँतर समुदायका महिलाले घरलिपपोतका कामबाट केही आर्जन गर्दैछन् । यी पर्व कृषि उत्पादनसँग जोडिएका हुँदा गरिबहरू उखुका लाँक्रा, अदुवा र बेसारको बोटको सानोतिनो व्यापारबाट अतिरिक्त आम्दानी गर्दैछन् । यी कृषि सामग्री छठ पर्वमा चढाइने चलनले केही रकमको जोहो हुन्छ ।
प्रतिक्रिया