उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले अब टोलीको मेहनत अर्को खेल जित्ने गरी हुने समेत बताएका छन् ।

‘साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले । हाम्रो मेहनत अब अर्को खेल जित्ने गरी हुनेछ । धन्यवाद नेपाली टोली’, ओलीले लेखेका छन् । आज (बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । प्रधानमन्त्री आफैं नेपाल र बंगलादेशबीचको खेल हेर्न रंगशाला पुगेका थिए ।

साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले पराजित गर्‍यो । खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पुर्‍याएकी थिइन् ।

तर खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए । यसअघि पाँच पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट चुकेको छ । गएको संस्करणमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *