महँगियो भाइमसला
भाइटीका आउन चार दिन बाँकी रहँदा राजधानीको बजारमा चहलपहल बढेको छ । काठमाडौँको इन्द्रचोक, भोटाहिटी, असन, मखन गल्ली, महाबौद्ध, नयाँ सडक, नयाँ बानेश्वर, ललितपुरको लगनखेल, मङ्गलबजार, जाउलाखेललगायतका व्यापारिक केन्द्रमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको चहलपहल बढेको हो ।
तिहारका सामान किन्नेको भिड बढेसँगै सामानको मूल्य पनि मनलाग्दी छ । तिहारमा विशेष गरी लक्ष्मीपूजा गर्दा चाहिने दियो तथा पाला, मैनबत्ती र झिलिमिली बत्ती, दाजुभाइ पुज्नका लागि भाइमसला (नरिवल, काजु, पेस्ता, बदाम, किसमिस, ओखरलगायत) र ढाकाटोपीको कारोबार हुन्छ ।
तिहारका बेला भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप दिने विशेष मसला परिकारको निकै खपत हुन्छ । प्रायः सबै भारतबाटै आयात गरिने यस्ता भाइमसलाको भाउ यस वर्ष बजारमा छोइनसक्नुभएको छ
तिहारमा बढी मसला बिक्री हुने भएकाले कतिपय व्यापारीले मौका यही हो भन्दै आफूखुसी मूल्य बढाएका छन् । पुरानो स्टकमा रहेका अखाद्य र सस्तो प्रकारका मसलासमेत नयाँमा मिसाएर बेच्ने गरेको पाइएको छ तर मूल्य भने व्यापारीले उच्च दरमा लिने गरेका छन् ।
भाइमसलामा प्रयोग हुने नरिवल, पेस्ता, छोकडा, काजु, देशीबदाम, किसमिसलगायतका सामग्रीको मूल्य बढेको हो । दसैँअगाडिसम्म प्रतिकेजी एक हजार पाँच सय रुपियाँ रहेको काजुको मूल्य बढेर प्रतिकेजी दुई हजार पुगेको छ ।
व्यापारीहरू भने तिहारमा भाइमसलाको माग बढी हुने भएकाले केही मूल्य बढ्नु स्वाभाविक भएको स्वीकार गर्छन् ।
प्रतिक्रिया