बदला भन्दा पनि उपाधि जित्नेगरी खेल्छौँ : कप्तान एञ्जिला
नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बङ्गलादेशसँग बुधवार भिड्दै छ ।
यसअघि पाँचपल्ट फाइनल पुगेर पनि उपाधिविहीन नेपालले बुधवार उपाधि भिडन्तमा साबिकको विजेता बंगलादेशविरुद्ध चुनौती प्रस्तुत गर्न लागेको हो ।
गत संस्करण पनि नेपाल घरेलु मैदानमा बङ्गलादेशसँग पराजित हुँदा उपाधिविहीन बनेको थियो । यसपल्ट यी दुई टोली दशरथ रंगशालामा नै आमनेसामने हुँदैछ । यस पटक भने नेपाली टोली यो अवसर खेर नफाल्ने लक्ष्यमा छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताएकी छन् ।
फाइनलअगाडि पत्रकार सम्मेलनमा एञ्जिलाले सधैँ फाइनलमा हार्दै आए पनि यसपल्ट अवसर नगुमाउने विश्वास व्यक्त गरेकी छन् । उनले बङ्गलादेश धेरै राम्रो टोली रहेको उल्लेख गर्दै विपक्षीलाई चुनौती दिन आफ्नो टोली तयार र सक्षम रहेको प्रतिक्रिया दिएकी छन् ।
उनले सेमिफाइनलमा अहिलेसम्मकै धेरै समर्थकको साथ पाएको स्मरण समेत गरिन् । उक्त समर्थक फाइनलमा पनि आउँदा नेपालका लागि त्यो बलियो साथ मिल्ने उनको विश्वास छ । कप्तान एञ्जिलाले अहिलेको टोली धेरै राम्रो र मजबुत रहेको पनि बताइन् ।
यो पुस्ताले पनि जित्न नसके नयाँ बलियो टोली निर्माणका लागि जित्न ५÷१० वर्ष लाग्न सक्ने उनको भनाइ छ । त्यसैले पनि आफूहरू उपाधि जित्ने यो राम्रो अवसर गुम्न नदिने उनी बताउँछन् । गत संस्करणमा बङ्गलादेशसँग पराजित भएको स्मरण गर्दै उनले यसलाई बदलाका रूपमा भन्दा च्याम्पियन बन्ने अवसरका रूपमा लिने उनको भनाइ छ ।
नेपालले साबिक विजेता बङ्गलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० बजे खेल्दै छ । गत संस्करणमा नेपालमाथि ३–१ को जित निकाल्दै बङ्गलादेश पहिलोपल्ट च्याम्पियन बनेको थियो । कप्तान एञ्जिलाले यो विगत भइसकेको र हाल आफ्नो टोली उच्च लयमा रहेकाले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताइन् ।
पाँच पटक उपविजेतामा चित्त बुझाएको तर यो विगत भएको बताइन् । यी हारबाट धेरै कुरा सिकेको उनको भनाइ छ । विगतका गल्ती नदोहोर्याउने उनको प्रतिबद्धता छ । वर्तमान समयमा टोली उत्कृष्ट छ । त्यसैले उपाधि घरमै राख्नेमा आफू विश्वस्त रहेको एञ्जिला बताउँछन् । नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।
नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले पनि टोलीको कमजोरी डिफेन्स लाइनमा सुधार भैसकेको उल्लेख गर्दै उपाधि जित्नका लागि आफ्नो टोली तयार रहेको बताए । उनले पनि अहिलेसम्मकै बलियो साथ घरेलु समर्थकबाट भारतविरुद्ध पाएको र फाइनलमा पनि त्यो अवसर मिल्ने उल्लेख गरे । यसले नेपाली टोलीको विश्वास बढ्ने उनको आशा छ ।
प्रशिक्षक तामाङले बङ्गलादेश धेरै राम्रो खेल्ने टोली रहेकाले गल्ती गर्ने छुट नहुने बताएका छन् । बङ्गलादेशले खेल्ने फुटबल शैली युरोप जस्तै रहेको र त्यसलाई रोक्न आफ्नो टोली तयार रहेको उनको विश्वास छ । साथै उनले रेखा पौडेलको अभाव हुन नदिन उनको विकल्पमा तयारी गरेको बताएका छन् । सोही अवसरमा उनले दर्शकबाट पाहुना या अन्य टोलीमाथि चोट पुग्ने गरी भएका आक्रमण गलत भएको बताए ।
बङ्गलादेशकी कप्तान सबिना खातुनले फाइनल दुवै टोलीका लागि निकै कठिन हुने उल्लेख गर्दै समर्थकले पनि यो प्रतिस्पर्धाबाट धेरै खुसी महसुस गर्ने आशा प्रकट गरेकी छन् ।
बंगलादेशका प्रशिक्षक पिटर बटलरले बलियो मानसिकताका साथ फाइनल खेले राम्रो नतिजा आउने धारणा राखेका छन् । उनले दुवै टोली राम्रा रहेकाले फाइनलमा राम्रो प्रतिस्पर्धा देखिने आशा व्यक्त गरे ।
एन्फाले नै टिकट बेच्ने
अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले फाइनलको टिकट बिक्री गर्ने भएको छ ।
एन्फाले मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पत्रकार सम्मेलनमार्फत यसअघि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले एन्फासँग भएको सम्झौता रद्द गर्दै टिकट आफैले बेच्ने जनाएको हो ।
खेल बेलुका ६ः३० बजेदेखि हुनेछ । टिकेट भने बुधवार बिहान ८ बजेदेखि एन्फाले बिक्री गर्ने भएको छ । माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले एन्फासँग टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको सम्पूर्ण टिकेटिङ अधिकार लिएको थियो । तर, आइतबार सेमिफाइनलमा करिब १५ हजार ४०० दर्शक क्षमता रहेको रंगशालामा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिएको म्याच रिपोर्टमा सार्वजनिक भएको थियो ।
लगत्तै एन्फाले क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै फाइनलको टिकट बिक्री रोकेको थियो । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार माउन्ट एभरेस्टले फाइनलका लागि भिआइपी प्यारापिटतर्फ क्षमताभन्दा बढी टिकेट विक्री गरिसकेको छ । सामान्यतर्फ पनि ४१ सय टिकेट बिक्री गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया