सशस्त्र प्रहरीलाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताएका छन् ।
मङ्गलवार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागि परेको बताएका हुन् । उनले त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना गर्न लागिएको बताए ।
उनले हाल स्थापनारत बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ पनि मन्त्रालय प्रयासरत रहेको जानकारी गराए । उनले दीक्षित प्रहरीहरूलाई आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमानदारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाएर काम गर्न आग्रह गरे । उनले सशस्त्र प्रहरी बल नेपालको कानुन परिवर्तन गर्न लागिएको भन्दै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यावसायिक बनाउने विश्वास व्यक्त गरे ।
उनले भने – ‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना, मौज्दुता बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको छ । राष्ट्रिय सुरक्षाभित्र पर्ने सबै जिम्मेवारीहरू हाम्रा साझा जिम्मेवारीहरू हुन् । हाम्रो जिम्मेवारीबाट राज्यका हरेक नागरिकमा सुरक्षाको प्रत्याभूति भए मात्र हाम्रो अस्तित्व र परिचालनको अर्थ हुन्छ । आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमानदारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाउनु होला । सदाचारयुक्त, योग्य, सकारात्मक सोच र मानसिकता भएको दक्ष र इमानदार अधिकृतको रूपमा राष्ट्रसेवाको आगामी यात्रा सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । कानुन परिवर्तन गरेर नयाँ कानुन निर्माणको प्रक्रिया अगाडी बढाउन लागेको छौँ । यसले थप सबल, सक्षम र व्यावसायिक बनाउने छ यो कानुनले भन्ने विश्वास छ ।’
उनले सशस्त्र प्रहरी बल नेपालको सेवालाई थप विशिष्टीकृत बनाइने भन्दै राष्ट्र सेवामा जोस र ऊर्जाका साथ लाग्न निर्देशन दिए ।
प्रतिक्रिया