तीन ठुला दलले देशलाई बर्बाद बनाए : राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले काँग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् ।
तीन वटै ठुला पार्टी भ्रष्ट भएको र उनीहरूले देशलाई बर्बाद बनाएकाले आगामी उपनिर्वाचनमा जनताले उनीहरूलाई पराजित गर्नुपर्ने अध्यक्ष लिङदेनको जिकिर थियो । पार्टीको कीर्तिपुर नगर कमिटीले मङ्गलवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ठुला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताए ।
अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिँदै सो पार्टीसँग देशलाई अघि बढाउने कुनै योजना नभएको दाबी गरे । उनले आफ्नो पार्टी मात्रै सुशासनको पक्षधर पार्टी रहेकाले जनताले उपनिर्वाचनमा साथ दिने विश्वास समेत व्यक्त गरे ।
अध्यक्ष लिङदेनले भने ‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भोट नदिएर त्यही काँग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बर्बाद भयो । अनि यो बर्बादीमा आफैँ सहभागी हुने ? कि अर्को कुनै हावादारी आएर कुनै योजना पनि छैन । उसको फेद के हो, टुप्पो के हो ? केही पनि थाहा छैन । कुनै अनुभव पनि छैन । भोली उसले जित्यो भने के गर्छ ? त्यो पनि थाहा छैन । त्यसै विकल्प भनेर हावामा भोट दिएर फेरी बाँकी समय बर्बाद गर्ने ? देखेको, जानेको पार्टीको हिसाबले पनि म फेरि पनि भन्छु–नेपालको राजनीतिमा राप्रपा बाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ? भन्नुस् ।’
अध्यक्ष लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमुनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने पनि बताए ।
प्रतिक्रिया