ब्राउन सुगरसहित दुई प्रहरी पक्राउ, घटना गुपचुप

प्रहरी परिसर काठमाडौंले ब्राउन सुगरसहित दुईजना प्रहरी पक्राउ गरेको घटना गुपचुप राखेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार जिप्रका दाङ दरबन्दी भई प्रहरी निरीक्षणालय काठमाडौं काजमा रहेका कलिम बेहना र कालिमाटी वृत्तमा कार्यरत रमेश खटिकलाई काठमाडौं प्रहरी परिसरको टोलीले यही कात्तिक १० गते करिब चार ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

उनीहरू दुवैजना नेपाल प्रहरीका सहायक हवल्दार हुन् । खटिकलाई ब्राउनसुगर बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो । उनले बयानको क्रममा कलिमले आफूलाई बेच्न लगाएको बताएपछि कलिम पनि पक्राउ परेका हुन् ।

उनीहरू दुवैजना प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । दुवैजनाको मोबाइल जफत गरेर उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरी स्रोत बताउँछ ।

‘उनीहरूलाई पक्राउ गरेर काठमाडौं परिसरमा राखिएको छ । कसैको दबाबमा घटना गोप्य राखिएको हो वा अनुसन्धान प्रभावित नहोस् भनेर हो त्यो भने थाहा भएन’, एक प्रहरी अधिकारीले भने ।

काठमाडौं परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले लागु औषधसहित केही व्यक्ति पक्राउ परेको स्वीकारे । अनुसन्धानकै क्रममा भएकाले प्रहरी वा पब्लिक हुन् भन्ने खुलाउन नमिल्ने उनको भनाइ छ ।

‘हामीले ब्राउन सुगरसहित मान्छे पक्राउ गरेका छौँ । थप अनुसन्धान गर्नुपर्ने भएकाले सार्वजनिक नगरिएको हो’,एसएसपी रजौरेले भने ।

पक्राउ परेको बेहना निरीक्षणालयमा कार्यरत एसपी प्रकाश मल्लनिकट मानिन्छन् । मल्ल इन्सपेक्टर हुँदा दाङ बसेदेखि नै उनीहरूको सम्बन्ध गहिरो थियो । एसपी मल्लले आफू धादिङ प्रहरी प्रमुख हुँदा बेहनालाई उतै लगेर घुमुवासमेत रोखेका थिए ।

उच्च प्रहरी स्रोतका अनुसार उजुरी छानबिनको बहानामा एसपी मल्लले बेहनालाई दाङमा सादा पोशाकमा खटाएका थिए । सोही समयमा बेहनाले रुपेडिया नाका हुँदै भारतबाट ठूलो मात्रामा ब्राउन सुगर काठमाडौं लगेको सूचना पाएपछि प्रहरी परिसर काठमाडौंले निगरानीमा राखेको स्रोतको भनाइ छ ।

उनीहरूसँग तत्काल चार ग्राममात्रै ब्राउनसुगर फेला परेपनि अझै ठूलो परिमाणमा भएको हुनसक्ने भन्दै थप अुनसन्धान थालिएको छ । मल्ल प्रहरीमा अब्बल अनुसन्धान अधिकृतसमेत मानिन्छन् ।

उनीहरु दुवैजनाको स्थायी घर बाँके जिल्ला हो । बेहना लामो समय तत्कालीन क्षेत्रीय प्रहरी कार्यालय र पछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयको मातहतमा घुमुवा प्रहरीका रूपमा कार्यरत थिए । त्यसअघि उनी दाङको ईप्रका तुलसीपुरको समेत घुमुवा बसेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *