सुवास नेम्वाङ वर्तमान संविधानका पिता हुन् : सर्वोच्च अदालतकी न्यायाधीश प्रधान

कानुनविद्हरूले स्वर्गीय सुवासचन्द्र नेम्वाङको समन्वयकारी व्यक्तित्वको चर्चा गरेका छन् ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले नेम्वाङलाई अहिलेको संविधानको पिताको रुपमा पनि चित्रण गरिन् । सोमवार सर्वोच्च अदालत बार एशोसिएशनले प्रकाशित गरेको स्मृतिमा सुवास नेम्वाङ स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै उनले संक्रमणकालीन न्यायलाई आजको अवस्थामा पुर्याउने पनि उनले निर्वाह गरेको भुमिकाको खुलेर प्रशंसा गरिन् ।

न्यायाधीश प्रधानले भनिन् ‘सबैले भनेको उहाँ एकदमै सकारात्मक र मैले स्मरण गर्दा खेरी मैले भने कि फाउन्डिङ फादर अफ कन्टिच्युशन पनि भन्छु । यसको फाउन्डिङ फादर नै हो उहाँ । सबैले संक्रमणकालीन न्यायलाई कानुनको माध्यमबाट आज यहाँ पुर्याउनका लागि पनि उहाँको ठूलो योगदान छ भन्ने कुरा पनि म स्मरण गर्न चाहन्छु ।

कार्यक्रममा एमाले नेता भीम रावलले स्वर्गीय नेम्वाङले देशको निम्ति ठूलो योगदान गरेको चर्चा गरे । कूटनीति, राजनीति, विवाद मिलाउने विषयमा उनी सिपालु भएको र त्यसैले आफूसँग उनको मित्रता कायम हुन गएको पनि उनले स्मरण गराए । नेम्वाङलाई बहुआयामिक व्यक्तित्वको रुपमा उल्लेख गर्दै नेता रावलले उनले पार्टीमा आउने गरेको झटका मिलाउन काममा पनि नेतृत्वदायी भुमिका खेल्ने गरेको बताए ।

उनले भने ‘सुवासजीको बहुआयामिक व्यक्तित्व थियो । उहाँ मिठो बोलेर ठूलाठूला कुरा पल्टाइदिने । त्यस्तो विशेषता उहाँको । मैले त खेलमा पनि भनेको छु–उहाँ कूटनीतिमा पनि उत्तिकै सिपालु । र कुरा मिलाउन पनि सिपालु । उहाँसँगको मेरो मित्रता पनि यी सबै कुराहरूमा मिसिन्थ्यो । पार्टीमा कहिलेकाहीँ झटका आउँथ्यो नि । त्यस्ता कुराहरूमा पनि मिसिन्थ्यो । उहाँले देशको निम्ति धेरै ठूलो योगदान गरेर जानुभएको छ । ’

एमाले सांसद सुहाङ नेम्वाङले आफ्ना पिता सुवासले सिंगै मुलुकको एकतामा जोड दिएको र त्यसै बाटोबाट मात्रै मुलुकलाई समृद्धितर्फ अघि बढाउन सकिने बताए । उनले नेपाली राजनीतिलाई सकारात्मक बाटोमा अघि बढाउन आफ्ना बुबा सुवासको अभाव अहिले पनि खडकीरहेको बताए ।

सांसद नेम्वाङले भने ‘अहिलेको जुन राजनीतिक परिस्थिति छ । त्यो राजनीतिक परिस्थितिमा कहाँ कहाँ उहाँको उपस्थिति खडकिरहेको छ कि जस्तो मलाई लाग्छ । उहाँको जुन तरिकाको सकारात्मकता थियो, जुन तरिकाको विनम्रता थियो । अहिलेको राजनीतिमा पनि त्यसको ठूलो आवश्यकता छ कि भन्ने मलाई लाग्छ । हामी नैरश्यता र नकारात्मकतालाई मात्र बेचेर हिँडिरहेको जस्तो लाग्छ । हामीले विनम्रता भन्ने चिज त परै जाओस्, त्यसलाई हामीले सम्झन पनि नचाहेको जस्तो लाग्छ । त्यही कारणले गर्दा अहिलेको परिस्थितिमा उहाँको उपस्थिति चाहिँ साह्रै खड्केको जस्तो आभास मलाई भएको छ । त्यही कारणले गर्दाखेरि म भन्न चाहन्छु । उहाँले जिन्दगीभर एउटै भाषण गर्दै हिँड्नुभयो । एकताको भाषण गर्दै हिँड्नुभयो, एकताको भाषण गर्दागर्दै उहाँ बितेर जानुभयो । तर हामीले त्यो कुरा बुझ्यौ कि बुझेनौ भन्ने चाहिँ मलाई ठूलो चिन्ता लागेको छ । म यहीबाट पनि आग्रह गर्न चाहन्छु–हामीले सहमति र सहकार्यको कुरा गर्नुपर्दछ । हामीले सकारात्मकताको कुरा गर्नुपर्दछ । हामीले विनम्रताको कुरा गर्नुपर्दछ । उहाँले सधैँ भाषणमा यही कुरालाई जोड दिएर भन्नुभयो, यसैले गर्दा मुलुक एक ठाउँमा आउँछ, समृद्धितिर हामी जानसक्छौं । बनेको कानुनलाई कार्यान्वयन गर्नसक्छौं । भनेर उहाँले जहिल्यै वकालत गर्दै हिँड्नुभयो । ’

नेम्वाङले पिता सुवासको विनम्रता, शालीनताबाट सिकेर राजनीतिक दलहरू अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर