भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सांसदहरूको जोड

सांसदहरूले सरकारले भ्रष्टाचार नियन्त्रणमा ध्यान दिनुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुदले सरकारले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गराउन नसकेको बताएका हुन् ।

उनीहरुले सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप पनि लगाएका छन् । त्यस्तै सरकार एकलौटी ढंगले चलेको पनि उनीहरूको भनाई छ । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले भ्रष्टाचारका फाइलहरू अगाडी नबढाएको बताए । उनले सरकारले प्रतिपक्षहरूलाई फरक नजरले हेर्ने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले भने – ‘अहिले जनताका तहमा जति भ्रष्टाचार निवारणका कुरा आइरहेका छन् । जति अख्तियारले अथवा सरकारका निकायले जनताले अनुभूत गर्ने गरेर भएका छन् भन्ने लागेको छैन । भर्खरै हामीले सुनिरहेका छौँ । दान, दातव्यका कुराहरू पनि आइरहेका छन् । अरु कयौँ विषयवस्तु आइरहेका छन् । भ्रष्टाचारका फाइलहरू विगतको सरकाले जसरी अगाडी बढाउन खोजेको थियो । ती सक्रियताका साथ, टुंगोमा पुर्याउने काममा थुप्रै आशङ्काहरू आएका छन् । ऐनको कार्यान्वयन गर्दा पनि काखा राखेर गर्ने हो कि पाखा राखेर गर्ने हो रु काखा र पाखाको विषयवस्तु पनि प्रशस्त आइरहेको छ । सरकारले आफ्नो पक्षलाई एउटा आँखाले हेर्ने । अनि आफूलाई मन नपरेकोलाई अर्को आँखाले हेर्ने कुरा पनि व्यापक रुपमा आएको छ । यसलाई व्यवहारिक रुपमा चिर्नुपर्ने हुन्छ । म सरकारलाई आग्रह गर्दछु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले सरकार एकपक्षीय ढङ्गले अगाडी बढिरहेको बताए । उनले कसैलाई कारबाही गर्ने र कसैलाई कारबाही नगर्ने गरेको भन्दै यसमा जनताको आपत्ति रहेको बताए ।

उनले भने – ‘सरकारको रवैया जो छ, अहिले जुन किसिमको काम, कारबाही भइरहेको छ । एकपक्षीय ढङ्गले गरिरहेको जस्तो देखिइरहेको छ । कसैलाई कारबाही गर्ने कसैलाई कारबाही नगर्ने भइरहेको छ । जनताको आवाज यो छ, यसमा गृहमन्त्रीको ध्यान जाओस् ।’

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले सुशासन कायम गर्न भ्रष्टाचार निरुत्साहित गराउने गरी ऐन बनाउनुपर्ने बताए । उनले भ्रष्टाचार शुन्य हुनेगरी ऐन नबनाएसम्म देशको विकास नहुने बताए ।

बैठकमा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष तथा सांसद अशोक राईले देशमा भ्रष्टाचारको दायरा बढेको भन्दै सुशासन कमजोर भएको बताए । उनले स्थानीय तहमा झन् भ्रष्टाचार बढेको बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र बढाउने भन्दापनि जनशक्ति र कार्यक्षमता बढाउनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका सांसद हृदयराम थानीले गिरिबन्धु, क्यान्टन्मेन्ट, ललिता निवास, बाइडबढी, यति र ओम्नी काण्डको छानबिन कहाँ पुग्यो भनेर सरकारलाई प्रश्न गरे । उनले सबै भ्रष्टाचार काण्डहरूको छानबिन गर्नुपर्ने बताए ।

उनले भने – ‘सबै भ्रष्टाचारको काण्डहरूको कुराहरू व्यापक रुपमा उठेको छ । गिरिबन्धु कहाँ पुगेको छ ? खोजतलास हुने हो कि होइन ? क्यान्टनमेन्टको खोज तलास हुने हो कि होइन । ललिता निवासको अवस्था के छ ? वाइडबडी कहाँ पुगेको छ ? यति र ओम्नी कहाँ पुगेको छ ? यस्ता धेरै छन् । त्यसको जबाफदेहिता, उत्तर दिने कसले हो ?’

नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले एमाले पार्टी कार्यालय भवन बनाउनका लागि दानको रुपमा जग्गा लिइएको भन्दै त्यो भ्रष्टाचार हो कि होइन भनेर प्रश्न गरिन् ।

उनले भनिन् – ‘यो दानको कुरा के हो ? भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने कुरा १० रोपनी १४ आना जग्गाले के गर्छ रु यो कुरा सरकारले किन गर्दै छ र सरकार चलाउने पार्टी र सरकारको प्रमुखबाट किन यस्तो हुन्छ ? अख्तियार प्रमुख यहीँ हुनुहुन्छ यो भ्रष्टाचार हो कि के हो ? उत्तर चाहिन्छ ।’

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको भन्दै राज्य संयन्त्र असफल भएको हो भनी प्रश्न गरे । उनले भने – ‘यो खालको घटना दैनिक घटिरहेका छन् (घुस दिनुपर्ने) नियन्त्रण कहीँबाट भएन । यो नियन्त्रण गर्ने ठाउँमा हामी सक्दै नसक्ने । हामी सम्पूर्ण राज्य संयन्त्र फेलियर भएको हो कि के हो ? यो बारेमा गम्भीर छलफल हुनु जरुरी छ ।’

सांसदहरूले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर