राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन् ।

नेपाली काँग्रेस चितवनले आज आयोजना गरेको दीपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए । सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समीकरण बनेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री सिंहले भने, ‘विधिको शासन कायम गर्नेतर्फ हाम्रो प्रयास रहन्छ ।’

फरक प्रसङगमा उनले काँग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्त्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौँ । पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो’, उपप्रधानमन्त्री सिंहले भने । नेपाली काँग्रेसको नेतृत्वबाट जारी संघीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्म अनुसार त्यसलाई अक्षरशः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कायम गर्दै विकासलाई सँगै लैजानुपर्ने उनले उल्लेख गरे ।

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले क्रान्तिकारी परिवर्तनदेखि राज्यलाई नयाँ ढंगबाट अगाडि बढाउन काँग्रेस सक्षम रहेको बताए । यसका लागि सबै संगठित भएर अघि बढ्नुपर्ने उनको सुझाव थियो । सो अवसरमा नेपाली काँग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, महिला विभाग सदस्य कलावती भट्टराईलगायतले पनि आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर