दुर्घटना बढाउँदै इलाम बजारका ‘छाडा’ कुकुर

इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो । छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन् । कुकुरको टोकाइबाट धेरै घाइते भएका छन् ।

कात्तिक सुरु भए यता मात्र इलाम बजारमा ३० जनालाई कुकुरले टोकेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा ७० जनालाई कुकुरले टोकिसकेको तथ्याङ्क जिल्ला अस्पतालसँग छ । घरपालुवा र सडकमा डुल्ने कुकुरले टोकेका दैनिक पाँच देखि सात जना बिरामी आउने गरेको इलाम अस्पतालका आकस्मिक सेवा इन्चार्ज टीका लुइँटेलले जानकारी दिए । गत आव २०८०/८१ मा भने सात सय ३५ जनालाई कुकुरले टोकेर भ्याक्सिन लगाएको उनले बताए ।

फिक्कलबाट आइतबार सदरमुकाम आइपुगेका सन्देश खड्काको मोटरसाइकल  कुकुरमा अल्झिएर लड्यो । “कुकुर जोगाउने हुँदा बाइक हुत्तिएर नालिमा लड्यो र बचेँ, गाडीमा ठोक्किएको भए ज्यान जाने थियो”,’ उनले भने, “स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायत सबै सरकारी निकाय यहीँ छन् । छाडा कुकुर व्यवस्थापन गर्नु उनीहरुको दायित्त्व हो ।”

छाडा कुकुरको व्यवस्थापन इलाम नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालयले गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । विष हालेर मार्दा पशु अधिकारकर्मीको चर्को विरोध आएपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको स्थानीयले बताए ।

नगरपालिकाले कुकुर व्यवस्थापनका लागि बजेट विनियोजन गरेर योजना अघि बढाएको जनाएको छ । छाडा कुकुरको सङ्ख्या बढ्दै गएका कारण मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएपछि नगरपालिकाले छाडा कुकुर व्यवस्थापनको पहल थालेको जनाएको हो ।

इलाम बजारका छाडा कुकुरको दीर्घकालीन व्यवस्थापन गर्न कुकुरको बन्ध्याकरण शिविर चलाउन लागिएको नगरपालिकाका प्रमुख केदार थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *