रवि लामिछानेको मोबाइल प्रहरीले फरेन्सिक जाँचका लागि पठायो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अनियमितता गरेको आरोपमा पक्राउ परेका लामिछानेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको  हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले केही दिनअघि उनको मोबाइल जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको हो । डीएफएल जाँचपछि उनको मोबाइलबाट डिलिट गरिएका विवरणहरू समेत रिकभर हुनेछ । यसबाट डिलिट भएका इमेलसहितका विवरण पनि रिकभर हुन्छन्, अनुसन्धानका क्रममा केही नयाँ प्रमाण हात पर्न सक्ने भएकाले अनुसन्धानको नियमित प्रक्रिया अन्तर्गत नै डीएफएलमा पठाइएको हो ।

कास्की प्रहरीले लामिछानेलाई गएको शुक्रबार जिल्ला अदालतमा उपस्थित गराएर सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि सात दिन म्याद लिएको थियो । सात दिनमा अनुसन्धान र बयान लगायतका प्रक्रिया नसकिएपछि फेरि म्याद थपका लागि अदालत उपस्थित गराउनु पर्छ । तर, एक हप्तापछि तिहार विदा हुने भएकाले अदालत खुलेको पहिलो दिन उनलाई उपस्थित गराउने प्रहरीको तयारी छ । प्रहरीले लामिछानेलाई ३ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर कास्की लगेको थियो ।

सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्व अध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो । पीडितहरूले २२ माघ २०८० मा रास्वपा सभापति लामिछानेसहित १८ जना विरुद्ध कास्की प्रहरीमा फेरि पूरक जाहेरी दिए । त्यहीबीचमा गठन गरेको संसदीय छानबिन समितिले पनि उनलाई कारबाही सिफारिस गरेपछि लामिछाने पक्राउ परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर