सरकारी औषधि उद्योगनै बिरामी

औषधि उत्पादनका लागि सरकारले सञ्चालन गरेका तीन संस्थान नेपाल औषधि लिमिटेड, जटीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र सिंहदरबार वैद्यखाना विकास समिति आफैँ बिरामी छन् । तीनवटै कम्पनी निरन्तर नोक्सानीमा रहेकाले ‘आर्थिक उपचार’को खोजीमा छन् । जडित क्षमताअनुसार उद्योगले औषधि उत्पादन गर्न नसक्दा सर्वसुलभ मूल्यमा औषधि वितरण गर्ने सरकारी उद्देश्य असफल भएको छ ।

सरकारले देशभर नि:शुल्क वितरण गर्ने ९८ प्रकारका औषधि उत्पादनका लागि सहयोगी हुने ठानेको औषधि लिमिटेडको प्रस्तुति सबैभन्दा कमजोर छ । यो उद्योगको जडित क्षमता १४६ प्रकारका औषधि उत्पादन गर्ने हो । जुका, क्षयरोग, उच्च रक्तचाप, मधुमेह, माइग्रेन, टाइफाइड, निमोनिया, मलेरिया, हैजालगायत रोगको उपचारका लागि नि:शुल्क वितरण गर्ने ९८ प्रकारका औषधि यही उद्योगबाट उत्पादन गर्ने र जनतालाई वितरण गर्ने मुख्य उद्देश्य हो । तर, अहिले उद्योगले सिटामोल र जीवनजल मात्रै सरकारलाई आपूर्ति गर्दै आएको छ ।

उद्योगले अहिले १४ प्रकारका औषधि मात्र उत्पादन गर्ने गरेको र त्यसमध्ये नि:शुल्क वितरणको सूचीमा रहेका जीवनजल र सिटामोल मात्रै सरकारलाई उपलब्ध गराइरहेको औषधि लिमिटेडका महाप्रबन्धक कैलाश पनेरूले बताए । अन्य ९६ प्रकारका औषधि भने निजी क्षेत्रबाट खरिद गरी सरकारले स्वास्थ्य चौकीमार्फत जनतालाई नि:शुल्क वितरण गरिरहेको छ । ‘जीवनजल र सिटामोल मागअनुसार आपूर्ति हुने गरी उत्पादन भइरहेको छ,’ उनले भने, ‘गत वर्ष तीन करोड ट्याब्लेट सिटामोल र ३५ हजार पुरिया जीवनजल उत्पादन भएको थियो ।’

उद्योगको उत्पादन घट्दा सञ्चालन आयसमेत ठुलो अन्तरले घटेको छ । ०७९/८० मा औषधि लिमिटेडको सञ्चालन आय ३०.८४ प्रतिशत घटेको अर्थ मन्त्रालयले जनाएको छ । सो आवमा तीन करोड ५६ लाख आम्दानी गरेको उद्योगको खर्च भने तीन गुणा बढी अर्थात् नौ करोड नौ लाख रुपैयाँ थियो । उद्योगको सञ्चित नोक्सानी दुई अर्ब १३ करोड रुपैयाँ पुगेको छ । वेला–वेला सरकारले ऋण दिएर उद्योग चल्ने गरेको छ ।नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर