हामी अहिले नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौ : पुष्पकमल दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारलाई अहिले नै गल्हत्याउने पक्षमा आफूहरु नरहेको बताएका छन् ।

अध्यक्ष दाहालले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको पनि दोहोर्‍याए ।

शनिवार काठमाडौंमा पार्टीद्वारा आयोजित खबरदारी सभामा बोल्दै उनले सडकबाट सरकार फेर्ने भन्ने काँग्रेस—एमाले नेतृत्वको सरकारलाई परेको भए त्यो भ्रममात्रै हुने पनि बताए । ढुक्कसँग सरकार चलाए हुने अध्यक्ष दाहालको भनाई थियो ।

उनले काँग्रेस–एमालेलाई बेइमान, भ्रष्ट, विचौलियाहरुको पार्टी भएको आरोप लगाउँदै अब प्रधानमन्त्री, मन्त्री बनाउनका लागि फकाउन आउने पक्षमा नरहेको पनि बताए ।

सरकारलाई बेथिति बढाउन नदिन, भ्रष्टाचारीलाई संरक्षण गर्न नदिन, संविधानको रक्षा गर्दै समृद्धिको पक्षमा काम गराउन आफूहरुले सरकारलाई खवरदारी गरेको जिकिर गर्दै अध्यक्ष दाहालले त्यसमा तलमाथि भए सैह्य नहुने बताए ।

अध्यक्ष दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा पनि गरे । काँग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने उनको भनाई थियो ।

अध्यक्ष दाहालले आफ्नो पार्टीले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर काँग्रेस र एमालेलाई जनस्तरबाट सजाय दिन चाहेको पनि बताए ।

उनले भने– ‘हामीले पहिले नै भनेका छौं–अव हामी चुनाव तपाईहरुजस्ता बेइमान, भ्रष्ट विचौलियाका प्रतिनिधि पार्टीसँग मिलेर लड्ने छैनौं । जति ल्याएपनि एक्लै लड्ने छौं । हामीले २०६४ मा एक्लै लडेको हो । र, देशको सबैभन्दा ठूलो पार्टी भएको हो । हामीले बिचमा केही गल्ती ग¥यौं । जनतासँगको सम्बन्ध जति बलियो बनाउनु पर्दथ्यो, कमजोर भयो । हामी त्यो गल्ती सच्याउन चाहन्छौं । हामी जनतातिर फर्किन चाहन्छौं । अस्ती चितवनको एउटा कार्यक्रम भएको थियो । माओवादी फेरि एक हुन्छ । र, एक्लै चुनाव लडेर काँग्रेस र एमाले जस्ता बेइमान र भ्रष्ट पार्टीहरुलाई उचित सजाय जनताकै तहबाट दिईन्छ । ’

अध्यक्ष दाहालले माओवादी धारका अन्य राजनीतिक दलहरुसँग एकता गरेर आफनो पार्टीले आगामी निर्वाचनमा जाने तयारी गरेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *