२० लाख घुस प्रकरणमा वैदेशिक रोजगार बोर्डका कार्यकारी अधिकृत उप्रेतीमाथि छानबिन

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन थालेको छ ।  उनलाई मन्त्रालय तानेर छानबिन थालिएको मन्त्रालय स्रोतले बताएको छ ।

डेर्नमाकको अवैतनिक श्रम दूत बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रुपैयाँ लिएको उजुरी परेपछि मन्त्रालयले छानबिन थालेको हो ।

मन्त्रालयमा रकम लिएको रसिदसहित उजुरी परेको थियो । उनीमाथि छानबिनका लागि मन्त्रालयले कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

एकजना व्यक्तिले आफूसँग २० लाख रुपैयाँ लिएर डेनमार्कको लागि अवैतनिक श्रम दूत नबनाइदिएको भन्दै रसिदसहित प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको मन्त्रालय स्रोतको दाबी छ ।

उक्त उजुरीमाथि छानबिन गर्न प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालयलाई पठाएको थियो । प्रधानमन्त्री कार्यालयले उनीमाथि छानबिन गरेर प्रतिवेदन बुझाउन भनेको हो । विवादै विवादमा काम गरिरहेका उप्रेतीमाथि मन्त्रालयले यसअघि नै कदम चाल्न खोजेको थियो ।

त्यस्तै उनका विषयमा उठेका विभिन्न विषयमा समेत छानबिन गर्न मन्त्रालयले समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेर उनीमाथि छानबिन गर्ने निर्णय गरेको हो । अख्तियार परेको मुद्दा, आफ्ना मान्छेलाई जागिर खुवाएको जस्ता विषय उठेपछि मन्त्रालयले सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको मन्त्रालयका एक अधिकारीले बताए ।

उनीमाथि आफू निकटकालाई जागिर खुवाएको आरोप समेत लागेको छ । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो । त्यसमा अख्तियारले छानबिन समेत गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *