चिनियाँ नागरिकसँग नेपाली किशोरीको जबर्जस्ती विवाह गराउने ८ जना पक्राउ

बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा सुनसरीमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् ।

धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेल भन्ने स्थान बस्ने ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विबाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी,  सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका- १२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका-३ की २० वर्षीया रोशनीमाया तामाङसँगै चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेको हो ।

नेपालको कानुन अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्नु वा गराउन नहुने कानुनी व्यवस्था छ । यसरी जबर्जस्ती विवाह गराएमा विवाह बदर हुनेछ र यसमा कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था पनि मुलुकी देवानी संहिता २०७४ म‍ा छ ।

सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार किशोरीलाई प्रलोभनमा पारी जबर्जस्ती विवाह गर्दै गर्दा  प्रहरीले उद्दार  गरेको हो ।

उनका अनुसार विपन्न परिवारका किशोरीका बुबाले भने छोरीका लागि राम्रै होस् भनेर विवाह गरेको बताएका छन् । ‘छिमेकी किशोरीको पनि बिहे चिनियाँसँग भएको रहेछ, छिमेकी भिनाजु ( चिनियाँ नागरिक) पनि आएका कारण विवाह गरेको देखिन्छ’, एसपी तिम्सिनाले भने ।

चिनियाँ पक्षले विवाह गर्नुको कारणबारे अनुसन्धान भइरहेको उनले बताए । किशोरीको जबरजस्ती विवाहको तयारी गरेपछि उनकै आफन्तले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरी विवाह मण्डपमा पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *