रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान
सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढेको छ ।
कास्की प्रहरीले त्यससम्बन्धी प्रतिवेदन तयार गरिरहेको छ । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रविले राजनीतिमा प्रवेश गर्नु अघिदेखि हालसम्म जोडेको सम्पत्ति र उनको परिवारको चल/अचल सम्पत्ति सम्बन्धमा छानबिन हुने उच्च स्रोतले बतायो । स्रोतले भन्यो, ‘रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्न प्रतिवेदन बनिरहेको छ । शुरूमा यो (सहकारी ठगी र संगठित अपराध) मुद्दामा थुनछेक बहस भएपनि लगत्तै सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दर्ता गर्ने तयारी छ ।’
गत वैशाखमै सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ लाई संशोधन गरी प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान र अभियोजन गर्न पाउने अधिकार प्रत्यायोजन गरिएको थियो ।
गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलन गरेको अभियोग रविमाथि छ । रकम अपचलनमा गोरखा मिडियाका तत्कालीन अध्यक्ष जीबी राईको निर्देशन र सञ्चालक छविलाल जोशी बञ्जाडेको मध्यस्थता देखिएकाले प्रहरीले संगठित अपराधमा समेत अनुसन्धान गरिरहेको छ ।
रविले आफूमाथि लागेको अभियोगसम्बन्धमा प्रहरीलाई इन्कारी बयान दिइरहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी सुन्दर तिवारीको नेतृत्वमा चारजना प्रहरी अधिकारी कास्की प्रहरीमा बसेर रविसँग बयान लिइरहेका छन् ।
सूर्यदर्शनलगायत केही सहकारीको रकम गोरखा मिडियामा ल्याउँदा आफ्नो संलग्नता नरहेको दाबी गरेका रवि र गितेन्द्रबाबु (जीबी) राई ‘पार्टनर’ भएकाले उनीहरूबीच भएको फोन सम्वादका बारेमा पनि प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।
गोरखा मिडियाका अध्यक्ष समेत रहेका जीबी राई र रविबीच भएका फोन संवाद र एसएमएस समेत प्रहरीले केलाउने भएको छ । रवि गृहमन्त्री हुँदा उनले मलेसियाका समकक्षीसँग फोनमा वार्ता गरेका थिए । उनले जीबी मलेसियामा रहेकाले ल्याउने प्रयास गरेको बताएका पनि थिए ।
मलेसियन सरकारले सुपुर्दगी सन्धि नहुँदा जीबीलाई दिन नमिल्ने बताएपछि रेड नोटिस जारी हुँदा पनि उनलाई ल्याउन नसकिएको प्रहरीको दाबी छ । तर, फरार रहेकै बेलामा जीबी र रविबीच संवाद भएको आशंका अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको छ । पछिल्ला दिनमा रविले सबै दोष जीबीमाथि थोपार्दै आएका छन् ।
प्रतिक्रिया