माओवादी सत्ता वियोगको छटपटीबाट बाहिर निस्कन सकेन : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सत्ता वियोगका छटपटीबाट बाहिर निक्लन नसकिरहेकोले जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको आरोप लगाएका छन्।
सङ्कटका समयमा प्रतिपक्षी दलको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरे पनि कमै हुने महासचिव पोखरेलले बताएका हुन्।
माओवादीको नेतृत्वमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरी सरकारको आलोचना गरेका थिए।
पोखरेलले यसबारे सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै लेखेका छन्, ‘ यस पटक प्रमुख प्रतिपक्षी दलको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन आलोचनाका लागि आलोचनाको खेती गर्ने कुरामा केन्द्रित बन्न पुगेको देखिन्छ।’
पोखरेलको भनाइ
पुष्पकमल दाहालले जाजरकोट भूकम्पका वेलाको आफ्नो नेतृत्वको सरकारले राहत, उद्धार र पुनर्स्थापनाको काम के कसरी गरेको थियो भन्ने कुरा हेक्का नराखी वर्तमान सरकारले बाढी,पैरो र डुबानका समयमा काम गर्न नसकेको आरोप लगाएको देख्दा आश्चर्य लाग्दछ।
जाजरकोट भूकम्पका वेला न सडक अवरुद्ध थियो। नत मौसमी प्रतिकुलता नै थियो । निराश बनेका जनतामा आशा जगाउन त्यति बेलाको प्रमुख प्रतिपक्ष राज्यपक्ष भन्दा अगाडी बढेर राहत र उद्धारमा जुटेको थियो। यस पटक प्रमुख प्रतिपक्षी दलको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन आलोचनाका लागि आलोचनाको खेती गर्ने कुरामा केन्द्रित बन्न पुगेको देखिन्छ।
यस पटकको बाढी,पैरो र डुबानका कारणले राजधानी र त्यस आसपासका क्षेत्रमा भएको क्षति अकल्पनीय थियो । राजधानी जोडने सबै बाटाहरू अवरुद्ध भएका थिए । प्रभावित क्षेत्रमा अधिकांश ग्रामीण सडक समेत अवरुद्ध थिए । लगातारको वर्षातका कारणले भिजिबिलिटीको अभावमा उडानमा समेत समस्या उत्पन्न भएको थियो । त्यस्तो अवस्थामा राज्यका निकायले गरेको उद्धार क्षेत्रमा गरेको कष्टसाध्य कामलाई अनदेखा गर्नु उचित होइन । तर सत्ता वियोगका छटपटीबाट बाहिर निक्लन नसकिरहेको प्रमुख विपक्षी दल जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको छ ।
यस पटक सरकार विपद् पर्यटनलाई रोक्न पूर्णतः सफल भयो । जाजरकोट भूकम्पको वेलामा भएको जस्तो विपद् पर्यटनको पीडा बाढीपहिरो प्रभावित क्षेत्रका जनताले बेहोर्नु परेन । यसलाई प्रतिपक्षले सरकारको कमजोरी ठानेको हो भने त्यो भएकै हो ।
जहाँसम्म क्षतिग्रस्त सड़क सुचारु गर्ने कुरामा सरकारले अपेक्षा गरिएको भन्दा छिटो सुचारु गर्न सफल भयो । बीपी राजमार्गको दुरावस्था देखेकाहरूका लागि राज्यका निकायहरूले गरेको काम निकै प्रशंसनीय रह्यो । खुर्कोट-रामेछाप जोड़ने सडकमा सुनकोशी नदीले बगाएको पुलमा बेलीब्रिज जडान गर्ने कुरामा नेपाली सेना र प्राविधिकहरूले प्राप्त गरेको सफलता नेपालकै सन्दर्भमा अकल्पनीय विषय हो । तर प्रतिपक्षी दल यी सबै कुरालाई अनदेखा गरेर आलोचनाका लागि आलोचनामा केन्द्रित छ ।
वास्तवमा सङ्कटका समयमा प्रतिपक्षी दलको यस प्रकारको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरे पनि कमै हुन्छ ।
प्रतिक्रिया