रवि र छविलाई आज अदालतमा उपस्थित गराइँदै

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज (बिहीबार) कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ । गोर्खा मिडियाका पूर्व सञ्चालकद्वय लामिछाने र जोशीलाई म्याद थपको अनुमतिका लागि बिहीबार कास्की जिल्ला अदालत लैजान लागिएको हो ।

लामिछानेसँगको बयान नसकिएकाले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको बयान नसकिएको जानकारी दिइन् । उनले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा पर्ने उल्लेख गरिन् ।

लामिछानेले बयानका क्रममा समन्वय गरेको उनले बताइन् । उनले भनिन्, ‘हामीसँग छिटो बयान सक्नुस् भन्नु भएको छैन । बयानमा सघाउने उहाँको दायित्व र कर्तव्य पनि हो नि !’ पूर्व डीआईजी जोशी असोज ६ मा पक्राउ परेका हुन् । लामिछानेलाई प्रहरीले कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको हो । सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि बिहीबार अदालत लगिँदै छ ।

गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डिआईजी जोशीको गत असोज १७ गतेबाट लागु हुने गरी २० दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको म्याद थप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशीसहित १८ व्यक्ति र संस्थाविरुद्ध किटानी जाहेरी परेको थियो । यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने फरार छन् । सूर्यदर्शन सहकारीबाट पाँच करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ ।

रविले सूर्यदर्शन सहकारीबाट एक करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको वित्तीय प्रतिवेदनमा समेत उल्लेख छ । सहकारी ठगी प्रकरणमा रविसहित माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए ।

पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएर उनीहरुले पुरक जाहेरी दिएका थिए । त्यसअघिकै जाहेरीका आधारमा सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

पटक पटक गरेर सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा शुक्रबा रमात्र रविसहित १४ जनाविरुद्ध थप पक्राउ पुर्जी जारी भएको छ । उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर आचार्य, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पनि पुर्पक्षका लागि थुनामै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर