लुम्बिनीमा थपिएका तीन मन्त्रीहरूको शपथ आज

लुम्बिनीमा बुधबार थपिएका तीन मन्त्रीको आज (बिहीबार) शपथ ग्रहण हुने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले तीन महिनापछि तीन मन्त्री थपेका छन् । मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसबाट दुई र जनता समाजवादी पार्टीबाट एक जना मन्त्रीलाई थपेका हुन् ।

कांग्रेसबाट जन्मजय तिमिल्सिना र देवकरण कलवार तथा अशोक राई नेतृत्वको जसपाबाट आदेश कुमार अग्रवाललाई उनले मन्त्री नियुक्त गरेका हुन् । थपिएका तीनै जना मन्त्रीको शपथ आज हुँदैछ । उनीहरूलाई प्रदेश प्रमुख कृष्ण घर्तीले शपथ ग्रहण गराउने छन् ।

बर्दियाबाट निर्वाचित कांग्रेसका तिमिल्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नवलपरासीबाट निर्वाचन कलवारलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघिका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएपछि वन मन्त्रालय रिक्त रहेको थियो ।

यस्तै जसपाका अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए । कांग्रेसबाट मन्त्री नियुक्त भएका तिमिल्सिना पहिलो चरणमै मन्त्री बन्ने सूचीमा थिए । तर उनलाई अन्तिम समयमा शपथ खुवाइएको थिएन । पहिलो चरणमा मन्त्री बन्नबाट पछाडि पारिएका तिमिल्सिना मन्त्री बन्ने दौडमै थिए ।

सरकारमा तीन मन्त्री थपिए पनि मन्त्री परिषद्ले पूर्णता भने पाएको छैन । प्रदेशमा एक मन्त्रालय अझै रिक्त छ । अहिले ११ सदस्यीय मन्त्री परिषद् बनेकोमा यो प्रदेशमा १२ मन्त्रालय हुन् । अहिले प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय रिक्त छ । यो मन्त्रालय साना दलहरूलाई दिने तयारी मुख्यमन्त्रीको छ । तर मन्त्रालयमा दाबी गरिरहेका नागरिक उन्मुक्ति र लोसपाबाट कसलाई सरकारमा सहभागी गराउने भन्ने विषयमा मुख्यमन्त्री अनिर्णीत छन् ।

लामो प्रयासपछि मुख्यमन्त्री तीन मन्त्री नियुक्त गर्न सफल भएका हुन् । मूलतः कांग्रेसबाट मन्त्री बन्ने आकांक्षीहरू बढी भएका कारण कांग्रेसले मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन सकेको थिएन । लामो प्रयासपछि कांग्रेसले आफ्नो दलबाट मन्त्री बन्ने दुई जनाको नाम टुंगो लगाएर मुख्यमन्त्री आचार्यलाई बुझाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *