विपी राजमार्ग : छोटो दूरीका कारण ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य छन् यात्रुहरु
अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले संघीय राजधानी काठमाडौंबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति गर्यो । पुल पुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरु अधिकांश पूर्ण रुपमा नै सञ्चालनमा आइसकेका छन् । तर विपी राजमार्ग भने अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।
पूर्ववर्ती क्षेत्रबाट संघीय राजधानी आउने वैकिल्पक बाटो भनेको उदयपुर चितवनबाट काठमाडौं आउने हो । तर लामो पर्ने भएकाले पाँच घण्टा भन्दा बढी जाममा बसेर भएपनि विपी राजमार्गबाटै काठमाडौं आउने गरेका छन् । विपी राजमार्गको यात्राका क्रममा पर्यटकहरु पनि सास्ती व्यहोरिरहेका छन् ।
सुनकोशीले धेरै ठाउँमा सडक नै बगाएको छ । त्यसको विकल्प दिन सरकारलाई अझै धेरै समय लाग्ने निश्चितप्रायः छ । स्थलगत रिपोर्टिङका क्रममा न्युज एजेन्सी नेपालले विपी राजमार्गमा भेटिएका एक जना सवारी चालकसँग कुरा गर्दा उनले ४/५ घण्टा कुरेर बस्नुपर्ने र अर्को बाटो जाँदा एक दिन पूरै समय जाने भएकाले जाममा बसेरै छोटो बाटो जाने गरेको बताए । तत्काल बाटो बन्छ जस्तो उनलाई लागेको छैन । चितवन हुँदै जाँदा बाटो घुमाउरो भएकाले विपी राजमार्ग हुँदै नै जान छिटो हुने बताए ।
उनले भने,’४/५ घण्टा कुरेर बस्नुपर्छ । बाटो बन्ला जस्तो छैन, बाटो नै यस्तो छ । शुरुमै यस्तो जाम परिसक्यो, बीच बीचमा अझ कति बाँकी छ । उताबाट जाँदा घुमेर जानुपर्छ, टाढा छ ।’
सोही क्रममा भेटिएकी रुसकी एक पर्यटकले आफूसँग समय नरहेको तर अघि बढ्न समस्या भएको गुनासो गरिन् । उनले काठमाडौँका लागि आफू हिँडेपनि बाटोमा धेरै समयदेखि जाममा बस्नुपरेको बताइन् ।
उनले भनिन्,‘यहाँ किन केही गरिएको छैन, थाहा छैन, मसँग समय छैन । म काठमाडौंका लागि हिँडेको हो । मेरो घर रसिया हो ।’
काभ्रेको भकुण्डेबेंसी क्षेत्रमा भेटिएका मोटरसाइकल चालकसँग कुरा गर्दा उनले आफू झापाबाट काठमाडौँ हिँडेको दुई दिनमा भकुण्डेबेंसी आइपुगेको बताए । उनले बाटो चितवनतिर पनि बिग्रिएकाले छोटै बाटोबाट जाने निर्णय गरेर आएपछि सहज नरहेको प्रतिक्रिया दिए । उनले विगतमा बाटो राम्रो हुँदा एक दिनमा पुग्ने ठाउँ अहिले दुई दिनमा पनि पुग्न कठिन भइरहेको गुनासो गरे । नदीले अहिले आफ्नो क्षेत्र ओगटेकाले नदीले नभेट्ने क्षेत्रलाई मध्यनजर गरी सडक सञ्जाल बनाउन सरकारलाई सुझावसमेत दिए ।
उनले भने,’म झापाबाट हिँडेको । बाटो उता पनि धेरै नराम्रो छ । त्यसैले आउन नसकेर साथीको घरमा बास बसेर अहिले बिहान हिँडेको । विगतमा यो बाटो धेरै राम्रो थियो । अहिले दुई दिन लाग्छ । खोलाले आफ्नो क्षेत्र ओगटेको छ । उसलाई उसको क्षेत्र छोडेर बाँकी क्षेत्रमा मात्रै बाटो बनाउनु पर्छ ।’
बाढी, पहिरोका कारण विपी राजमार्गसहित देशभर सडक, पूर्वाधारका क्षेत्रमा ६ अर्ब बढीको क्षति भएको अनुमान छ । तर काम पूरा गर्नका लागि १५ अर्ब बढी रकम लाग्ने सरकारले अनुमान गरेको छ ।
- स्वास्थ्य सेवा सुधारका लागि सरकारले गरेका निर्णयहरू रोकिने अवस्था छैन : स्वास्थ्यमन्त्री
- वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउन सहमति
- स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन
- एउटै व्यक्तिले विद्युत अनुमतिपत्र होल्ड गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : सांसद शर्मा
प्रतिक्रिया