भिस्तारा एयरमा बम राखेको सूचना गलत, सर्च गर्दा केही भेटिएन

दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा बम राखेको सूचना गलत पुष्टि भएको छ ।

भिस्तारा एयर–१५५ मा चेकजाँच गर्दा विस्फोटक पदार्थ नभेटिएको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले बताइन् । उनले भनिन्, ‘अहिलेसम्म त्यस्तो फेला परेन, एकपटक फेरि तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँच गर्दैछौँ ।’

विमानमा सवार १५७ यात्रुले चेकजाँच पछि आफ्नो ब्यागेज जिम्मा लिएका छन् । दिल्लीबाट उडेको विमान दिउँसो ४ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । अवतरण हुनुअघि नै विमानको सुरक्षा हेर्ने जिम्मेवारी व्यक्तिले बम राखिएको सूचना दिएपछि आइकाओको मापदण्ड अनुसार सर्च गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले बताए । उनले भने, ‘सूचना दिल्लीबाट नै विमान कम्पनीमा आएको रहेछ, सर्च गर्दा त्यस्तो केही भेटिएन ।’

सर्च अपरेसन पुरा भएसँगै सो विमान दिल्लीतर्फ फर्किन लागेको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर