बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्दैछौँ : अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन् ।

नेपाल बीमा प्राधिकरणले मंगलवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले आफू सात प्रदेशका विभिन्न क्षेत्रहरूमा पुगेको र सो क्रममा कमजोर आर्थिक अवस्था र आवश्यकता नदेखेका कारण बीमा नगरेको जानकारी पाएको बताए । उनले अहिले प्राधिकरणले सरकारसँग बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न दबाब दिइरहेको बताए ।

उनले नीतिबाट बीमाका लागि बाध्य बनाउन सके त्यसको फाइदा विमित स्वयंले पाउने बताए । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिआइआइ २०२४) आजबाट काठमाडौंमा सुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रो इन्स्योरेन्स एशोसिएशनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरैन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २० औं संस्करण आयोजना गरिएको बताइएको छ ।

उनले भने ‘म सातै प्रदेशको क्षेत्रमा पुगेको छु । बीमा भन्नेकुरा सुनेको छ । बीमा उसले गरेको छैन । यसका दुई कारण छन् । मसँग छ तर म गर्दिन । किनभने मलाई वाहियात लाग्छ एउटा कारण । अर्को मलाई गर्नु चाहिँ छ तर मसँग पैसा छैन । त्यसकारण हामीले अहिले सरकारसँग लभिङ गरिरहेको कुरा भनेकै बीमा गर्न बाध्य बनाउनु पर्यो । उसलाई बीमा गर्न बाध्य बनाउनुको मतलब पोसिलीबाट उसलाई बाध्य बनायौँ तर फाइदा उसले नै पाउने हो । बाध्य बनाउने पाटोमा हालको लागि हामीले जानुपर्छ ।’

कार्तिक ९ गतेसम्म हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिष्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ । जलवायु जोखिम बीमा, लघुबीमा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरू हटाउने सम्बन्धी रणनीतिहरू लगायतका विषयमा सहभागीहरुबीच छलफल हुने बताइएको छ । सम्मेलनमा नेपालसहित विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विकास साझेदार, गैरसरकारी संस्था, बीमा क्षेत्रका विज्ञहरु सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर