पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई पुरस्कार !

हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन हुने बदामखेती प्रवर्द्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन् ।

परम्परागत बाली प्रवर्द्धनका लागि नगरसभाबाटै पारित गरिएको नीति तथा कार्यक्रमअन्तर्गत बदामखेती गर्ने किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गर्न नगरपालिकाले १५ दिने सूचनासमेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी  पाँच सय रूपैयाँका दरले  दुई हजार पाँच सय तथा त्योभन्दा बढी फलाउनेलाई थप तीन सयका दरले प्रोत्साहन रकम दिने जनाइएको छ ।

नगरपालिकाको अधिकांश भागमा उत्पादन हुने बदामखेलीलाई प्रवर्द्धन गर्दै ब्राण्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख विमला राईले बताइन् । ‘बदाम बिक्रीबाट नगरपालिकाका किसानले अहिले पनि राम्रो आम्दानी गरिरहेका छन् । किसानले उत्पादन गरेका बदामलाई आगामी दिनमा ब्राण्डिङ गर्ने योजना छ । उनले भनिन्, ‘हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ । हामीले आर्थिक वर्ष २०८०/८१ मा नगरसभाबाटै पारित गरेर गहत र बदामखेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएका थियौँ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना छ । बदाम र गहतलाई हाम्रो नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएका छौँ ।’

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाको वडा नं ८ धितुङ, वडा नं ५ दुर्छिम वडा नं २ डिकुवामा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ । वडा नं १ बाहुनीडाँडा, वडा नं ३ च्यास्मिटार, वडा नं ७ महादेवस्थान, वडा नं ११ राजापानीलगायत ठाउँमा पनि आंशिक मात्रामा बदामखेती लगाउने गरिएको छ। मध्यपहाडी लोकमार्गले छोएको यो नगरपालिकाको वडा नं ८ धितुङमा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ। धितुङका धेरैजसो घरमा वार्षिक २०–२२ मुरी बदाम भित्रिने गरेको धितुङका वडाध्यक्ष टेकराज राईले बताएका छन्।

एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा यस वर्ष सात सय मुरीभन्दा बढी बदाम उत्पादन हुने अनुमान गरिएको नगरपालिकाका कृषि शाखाले जनाएको छ। नगरपालिकाका कृषि शाखाको तथ्यांक अनुसार करिब दुई सय घरपरिवार किसानले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर