क्रिप्टो कारोबारीसँग रकम असुलेको एसपी कार्कीमाथि आरोप, छानबिन गर्न समिति गठन
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की आर्थिक अनियमिततामा मुछिएका छन् । आर्थिक विवाद आएपछि प्रहरी प्रधान कार्यालयले उनलाई फिर्ता बोलाएर एसपी नारायणप्रसाद चिमरियालाई मोरङ पठाएको छ ।
२०८० फागुन २ मा मोरङ गएका कार्की कार्तिक २ मा तानिएका हुन् । उनले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोप छ । क्रिप्टोको कारोबारीको सूचना लिएर पक्राउ नगर्ने र मुद्दा नचलाउने शर्तमा कार्कीले २२ लाख रकम बुझेका हुन् ।
छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलाबारीमा कार्यरत हवल्दार खगेन्द्र राउतलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको छ ।
क्रिप्टो कारोबार गर्नेसँग लिएको रकम कार्कीले उदयपुरस्थित घरमा लगेर राखेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटना बाहिरिएपछि गुपचुप राख्ने शर्तमा उनले एक जना बिचौलियालाई ३ लाख रुपैयाँ दिएको भेटिएको छ । प्रहरी स्रोतका अनुसार छानबिन समितिले सो रकम बरामद गरेको छ ।
आफूमाथि छानबिन सुरु भएपछि कार्कीले क्रिप्टो कारोबारीलाई नै फिर्ता गरेको अनुसन्धानमा संलग्न प्रदेश प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।
प्रतिक्रिया