आन्दोलनका लागि तयार रहन जनमत पार्टीको निर्देशन

जनमत पार्टीले आन्दोलनका लागि तयार रहन आफ्नो पार्टी संरचनालाई निर्देशन गरेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले आन्दोलन गर्न भन्दै सबै तहका संगठनलाई तयार रहन निर्देशन दिने निर्णय गरेको हो ।

देशमा विषम परिस्थिति सिर्जना भएको भन्दै काठमाडौंको मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी मंसिर १६ गते हुने स्थानीय उपनिर्वाचनका लागि जिल्ला इञ्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

सो समितिमा निर्वाचन हुने वडा र पालिकाका केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पालिकाका पूर्वअध्यक्ष, वडाअध्यक्ष र वडाका पूर्वअध्यक्ष रहने छन् । निर्वाचन परिचालन समितिले कात्तिक १४ गतेसम्म उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रीय सचिवालयमा पठाउने निर्णयसमेत भएको छ ।

बैठकले संगठनलाई अझ सशक्त तरिकाले अगाडि बढाउने, विस्तार गर्ने, पार्टी प्रवेश गराउने सामूहिक प्रतिबद्धता व्यक्त गर्दै २०८४ को निर्वाचनमा बहुमतले तीनवटै तहमा सरकार बनाउनका लागि हरेक किसिमको तयारी गर्ने निर्णय गरेको पार्टीका राष्ट्रिय प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *