मन्त्री सिंहका सय दिन : के भयो उपलब्धि ?

शहरी विकास मन्त्रालयले सय दिनमा लक्ष्य भन्दा बढी काम गरेको जनाएको छ।उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले आफ्नो लक्ष्य भन्दा एउटा बढी भवन बनाएको जनाएको हो।

पत्रकार सम्मेलनमा मन्त्री सिंहले सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको बताए।उनले धरहरा सञ्चालन देखि भैंसेपाटीमा निर्माण गरिएको मन्त्री आवासमा मन्त्रीलाई सारिएको विषयलाई पनि आफ्नो उपलब्धी ठानेका छन्।स्थानीय तहका २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा भवन निर्माण गरिएको सिंहले जानकारी दिए।

सय दिनमा ११ वटा लक्ष्य लिएकोमा १० वटा पूरा गरेको मन्त्री सिंहको भनाइ छ ।  उनका अनुसार सय दिनको अवधिमा ५० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न भएका छन्।विपद्का कारण बाँकी १० वटा थप्नलाई कठिनाइ भएको उनले सुनाए। प्राकृतिक विपद्को समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउन चारवटा आपत्कालीन केन्द्र बनाउने निर्णय भएको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

जसअनुसार कालीकोटको तिलागुफा नगरपालिकामा ४० जना अट्ने, जुम्लाको चन्दननाथ नगरपालिकामा ४० जना, महोत्तरीको जलेश्वर नगरपालिकामा सय जना र सप्तरी तिलाठी कोइलाडीमा सय जना अट्ने आपत्कालीन केन्द्र निर्माण गर्ने भनेअनुसार दुईवटा पूर्णरूपमा सम्पन्न भएको र बाँकी दुई वटाको भवनहरु बनिसकेको र बाथरुमको केही मात्रै बाँकी छ।

सय दिनको बीचमा सात वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने निर्णय गरेअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय भवन, सोलुखुम्बु, लुमरुपा आयुर्वेद औषधालय भवन, पाँचथर, डडेलधुरा उपक्षेत्रीय अस्पताल भवन, डडेलधुरा, इसिवु स्वास्थ्यचौकी भवन, तेह्रथुम, बाह्रेकटौरे स्वास्थ्य चौकी भवन, महालक्ष्मी नगरपालिका, धनकुटा, मूर्तिढुंगा स्वास्थ्यचौकी भवन महालक्ष्मी नगरपालिका, धनकुटा, थोक्लुङ स्वास्थ्यचौकी भवन गरी सातवटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलाले बताए।

जाजरकोट र रुकुमपूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाका भवन पुनःनिर्माणको लागि आयोजना कार्यान्वयन इकाई स्थापना गरी जनशक्ति खटाइएको बताए।त्यस्तै,दमक व्यापारिक कम्प्लेक्स र चितवनको सौरहा सभा हल निर्माण कार्य सम्पन्न भइसकेको गेलालले  जानकारी दिए।

सचिव गेलालले थापाथलीस्थित नेपाल राष्ट्र बैंक बैंकिङ कार्यालय भवनको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा सम्पन्न गरी राष्ट्र बैंकलाई हस्तान्तरण गरिसकेको बताए।

नेपालको सबैभन्दा लामो त्रिवेणी—सुस्ता बहुत्तरी झोलुंगे पुल निर्माण कार्य सम्पन्न भई सञ्चालनमा ल्याएको र गोकर्णदेखि गुह्येश्वरीसम्मको ६ किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन गर्ने कार्य निर्माणाधीन रहेको बताए। त्यस्तै धरहरा शुल्क लिएर सञ्चालन गर्ने निर्णय अब छिट्टै हुने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *