रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए । ‘हामीले पूरक मुद्दा लैजान अनुसन्धान अगाडि बढाएका हौं । यसअघि पक्राउ परेका छविलाल जोशीसँगै जोडेर लैजाने हो,’ उनले भने । जोशीको बयान सकिएको उनले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा ल्याइएको थियो ।

यसअघि कास्की प्रहरीको टोलीले काठमाडौं गएर जोशीसँग भदौ ८ मा र लामिछानेसँग भदौ १० मा बयान कागज गराएको थियो । संसदीय समितिको प्रतिवेदन आएपछि असोज ६ मा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशी काठमाडौंको शंखमूलबाट पक्राउ परेका थिए । जोशीविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले शुक्रबार २० दिनको म्याद थप गरेको छ ।

यसअघि पहिलोपल्ट ५ दिन र दोस्रोपल्ट ७ दिन म्याद थपेर उनलाई हिरासतमा राखिएको थियो । म्याद थप्ने दिन घटस्थापना परेको र त्यसलगत्तै दसैं बिदा भएकाले अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरिदिएको हो । जोशीले सहकारीबाट रकम ल्याएर गोर्खा मिडियामार्फत अपचलन गर्ने कार्यमा जीबी राई, लामिछानेलगायत संलग्न रहेको भन्दै आफू निर्दोष रहेको जिकिर गरेका छन् । गत वर्षदेखि नै फरार रहेका राई हाल मलेसियामा रहेको प्रहरीले जनाएको छ ।

डीएसपी शर्माका अनुसार पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ । त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो । यसअघि पक्राउ परेर मुद्दा चलाइएका मध्ये ६ जना पुर्पक्षका लागि हिरासतमा रहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर