साफ वुमन्स च्याम्पियनसिप : पाकिस्तानलाई हराउदै भारतको विजयी सुरुवात
साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले दुई गोल गरिन् भने मनीषा कल्यान, बाला देवी र ज्योति चौहानले १-१ गोल गरे ।
खेलको सुरुवातदेखि नै पाकिस्तानमाथि दबाब बनाएको भारतले खेलको पाँचौँ मिनेटमै डांङमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।
यस्तै मनीषा कल्यानले १७ औँ मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् ।
३५ औँ मिनेटमा बाला देवीले गोल गरेपछि भारतले ३(० को अग्रता बनायो । बक्सभित्र प्राप्त फ्रिकिकमा मनिषाले बाला देवीलाई सट पास दिएकी थिइन् र त्यसमा बालादेवीले गोल गर्दै भारतका लागि आफ्नो ५० औँ अन्तर्राष्ट्रिय गोल पूरा गरिन् ।
भारतका लागि डाङ्मेई ग्रेसले ४२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।
पाकिस्तानले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमा गोल फर्कायो । पहिलो हाफको इन्जुरी टाइममा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमा गोल गरेकी हुन् । भारतकी अशलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो र त्यसमा हिरानीले सहजै गोल गरिन् ।
दोस्रो हाफको सुरुमै पाकिस्तानले गोल गर्दै भारतलाई दबाबमा राखेको थियो । ४७ औँ मिनेटमा पाकिस्तानकी काएला मारी सिद्दिकीले गोल गर्दै खेल ४(२ को स्थितिमा ल्याइन् ।
७८ औँ मिनेटमा ज्योति चौहानले गोल गर्दै भारतलाई ५(२ को अग्रता दिलाइन् ।
प्रतियोगितामा सर्वाधिक ५ पटक उपाधि विजेता भारतले समूह ए मा ३ अंक जोडेको छ ।
भारत यो जितपछि सेमिफाइनल नजिक पुगेको छ । समूह ए मा भारत र पाकिस्तानसहित साविक विजेता बंगलादेश छ ।
यस समूहको अर्को खेल आउने आइतबार पाकिस्तान र बंगलादेशबीच हुनेछ ।
बंगलादेशले पाकिस्तानलाई पराजित गरेमा भारत र बंगलादेश समूह चरणमा खेल्नुअघि नै सेमिफाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगितामा शुक्रबार समूह बी मा रहेका श्रीलंका र माल्दिभ्स र नेपाल र भुटानबीच खेल हुनेछ ।
प्रतिक्रिया