दशैंमा काठमाडौँ उपत्यकाका ११ ठाउँमा चोरी, १३० सवारी दुर्घटना

काठमाडौँ उपत्यकामा दसैँको अवधिभर ११ वटा चोरीका घटना भएका छन् । उपत्यकाका तीन जिल्लाहरू (काठमाडौँ, ललितपुर र भक्तपुर)मा जम्मा ११ वटा मात्रै चोरीको घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

जसमध्ये काठमाडौँमा ९ वटा, भक्तपुरमा २ वटा र ललितपुरमा भने शून्य चोरी भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बताएको छ । यो विवरण दसैँको अवधि १७ गतेदेखि २८ असोजसम्मको हो । उक्त अवधिमा विशेष गरी दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म बढी चोरी भएको पाइएको छ ।

अधिकांश चोरी घरमा मान्छे नभएको मौकामा ताला फोडेर भएका छन् । चोरीका घटनामा संलग्न भएकामध्ये केहीलाई पक्राउ समेत गरिएको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकको कोठाबाट १७ लाख रुपैयाँ बराबरको चोरी घटनामा संलग्न भएकाहरू लाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ ।

त्यसैगरी १७ देखि २८ असोजसम्मको अवधिमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरूमा १३० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर ४ जनाको ज्यान गएको छ । जसमध्ये ३ जनाको मृत्यु आफ्नै लापरबाहीका कारण सवारी दुर्घटना भएर मृत्यु भएको प्रहरीको भनाइ छ । अर्का एक जनाको मृत्यु भने ‘हिट एण्ड रन’बाट भएको छ ।

हिट एण्ड रन’ घटनामा संलग्न विराटनगर उपमहानगरपालिका-१७ घर भई ललितपुर कुपन्डोल बस्दै आएका ४० वर्षीय निरज विष्ट पक्राउसमेत परेका छन् । घटनाको चार दिनपछि कुपन्डोलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

२६ असोजको साँझ साढे ६ बजेतिर तिनकुन गैरीगाउँ सडकमा सर्लाहीको कबिलास नगरपालिका-२ घर भई काठमाडौँ बस्दै आएका ५१ वर्षीय विनोद महरा भन्ने रामविनय महरालाई विष्टले चलाएको बा ३ च ९४४ नम्बरको कारले ठक्कर दिई घाइते बनाएको थियो ।

घाइतेलाई सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याएपछि विष्ट भने फरार भएका थिए । उनको उपचारको क्रममा २७ गते बिहान १ बजे मृत्यु भएको थियो । यो अवधिमा साँझको ६ बजेदेखि रातिको ९ बजेको समयमा बढी दुर्घटना भएको प्रहरीको तथ्यांक छ । दुर्घटनामा ४ जनाको मृत्यु हुनका साथै १८८ जना घाइते भएका थिए । घाइतेहरू सबैको अवस्था सामान्य रहेको थियो ।

सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको प्रहरीको तथ्यांक छ । दसैँको यो अवधिमा उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँ र भक्तपुरबाट जुवातास खेलेको आरोपमा एक जना पनि पक्राउ परेनन् । ललितपुरबाट भने २ वटा जुवाखालबाट जम्मा ११ जनालाई पक्राउ गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दसैँ सुरक्षा योजना अनुसार तीन जिल्लामा मात्रै १० हजार प्रहरी परिचालन गरेको थियो । मान्छेको अत्यधिक चाप र दसैँ मनाउन गाउँ जाँदा घर र कोठा रित्तो हुने हुँदा चोरी बढ्न सक्ने भन्दै तीन जिल्लामा थप जनशक्ति परिचालन गरिएको थियो ।

काठमाडौँमा मात्रै दसैँमा हुनसक्ने अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा एरियामा डिएसपीको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको थियो । दुई रुटमा लङ रेञ्ज गस्ती, ४२ रुटमा सर्ट रेञ्ज गस्तीको व्यवस्था मिलाइएको थियो । ७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गरिएको थियो । सूचना संकलनको रूपमा सादा पोसाकको रूपमा ३८ वटा टोली बनाएर परिचालन गरिएको थियो ।

सिल एण्ड सर्च र कर्डन सर्चको रूपमा २८ टोली खटाइएको थियो भने २२ ठाउँमा एम्बुसिङ चेकिङ गरिएको थियो । नाकाहरूमा हरेक दिन अपराध अनुसन्धानमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । योजना अनुसार नै दसैँ सुरक्षित भएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर