मुस्ताङमा १६ करोडको भेडाच्याङ्ग्रा बिक्री

यो वर्षको बडादशैँमा मुस्ताङमा १६ करोड रुपैयाँको भेडाच्याङ्ग्राको व्यापार भएको छ।

दशैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङ्ग्रामध्य चार हजार ८०० जिल्लाभित्रका किसानले पालेका र तीन हजार २०० डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ।

केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार ५०० भेडा र सात हजार ५०० च्याङग्रा बिक्री भएको हो। ‘मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा  २८ हजारदेखि ३८ हजारका दरले च्याङग्रा बेचेका छन्’, उनले भने, ‘सरदर मूल्यअनुसार १६ करोड बराबरको च्याङग्रा बिक्री भएका छन्।’

गत वर्ष सात हजार भेडाच्याङ्ग्रा बिक्री भएको थियो। म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौंलगायत ठाउँमा मुस्ताङका भेडाच्याङग्रा बिक्री भएको छ। अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपालि भेडाच्याङ्ग्राको व्यापार राम्रो भएको व्यापारीले बताएका छन्।

जडीबुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोसिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले दशैँ तिहारमा हिमाली च्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए। तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुन्छ।

बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङग्रा १० हजार रुपैयाँ कम मूल्यमा बिक्री भएको छ। मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएको छ। यहाँका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *