दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल

दसैँमा यात्रुको चाप बढ्न गई हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ। सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका-६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन्।

यही असोज ११ र १२ गतेको अविरल वर्षापछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोट हुँदै लामो दुरीका सवारीसाधन सञ्चालन भइरहेका छन्। त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले बताए।

उनले भने,“लामो दुरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ। घटस्थापनापछि मात्रै यहाँ दुईतीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो। निः शुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन्। अभियान प्रभावकारी भएको छ।”

उनका अनुसार यो अभियान दसैँ मनाउन घर जान हिँडेका यात्रीलाई लक्षित गरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको थियो। फेरि दसैँ मनाएर फर्किनेहरूका लागि अभियान सञ्चालन गर्ने योजना छ। उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउ लगायतका खानेकुरा र पानी तथा चिसो पेय पदार्थ निः शुल्क रूपमा वितरणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदिपकुमार सिंहले बताए।

काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरिकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन्।

भीरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भीरपानीको चरीखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ। उक्त अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएका स्थानीय राजेशकुमार श्रेष्ठले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर