अस्पतालको भुइँमा राखेर बिरामीको उपचार गरिँदै

तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शैंयाको अभाव भएको छ ।

१५ शैंया क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शैंया अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।

‘बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बरामीलाई भर्ना गरेर राख्न सकिएको छैन । विशेष गरेर डेङ्गुका बिरामीको चाप अनपेक्षितरूपमा बढेको छ’, उनले भने । अस्पतालको स्तरोउन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाई नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताए । शैंयाको अभावले डायलायसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ ।

व्यास–१,२, ३, ४ र ५ मा डेङ्गुका बिरामीको संख्या दिन प्रतिदिन बढीरहेको छ । अस्पताल आएका बिरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा हालसम्म दुई सय ९७ जनामा डेङ्गुको संक्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिए । दमौली अस्पतालमा तनहुँका अतिरिक्त लमजुङको मध्यनेपाल, गोरखाको पालुङटार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *