विजयादशमीमा पनि रोकिएन बागमती सफाइ महाअभियान
२६ असोज २०८१ १८:४४
बडादसैँको दशमीका दिनमा पनि बागमती सफाइ महाअभियानले निरन्तरता पाएको छ । प्रत्येक हप्ताको शनिबार स्वयंसेवी रूपमा बागमती सफाइ हुँदै आएको छ ।
बागमती सफाइ महाअभियानको ५९६औँ हप्तामा आज तिलगङ्गास्थित वाग्मती किनारमा सफाइ गरिएको अभियानकर्मी डा. माला खरेलले जानकारी दिए ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर रूपमा हुँदै आएको छ ।
बागमती सफाइ महाअभियानले नागरिकमा सफाइ जागरण फैलाउन सहयोग गरेको छ । स्थानीय सरकारको असहयोगले सफाइमा आशातीत सफलता भने हासिल हुन नसकेको अभियानकर्मीको भनाइ छ ।
प्रतिक्रिया