खसी व्यापारीको गुनासो- महानगरका कारण खसी हराए, विक्री पनि भएनन्

दशैँको बेलामा गाउँबाट काठमाडौं उपत्यकामा खसी विक्री गर्न आएका व्यापारीहरुले काठमाडौं महानगरपालिकाको अकर्मण्यताका कारण खसी हराएको आरोप लगाएका छन् ।

बुधवार बिहान काभ्रेपलाञ्चोकबाट काठमाडौंको भृकुटीमण्डपमा खसी बेच्न आएका व्यापारीहरुले महानगरका कर्मचारीहरु आएर बाँधेका खसी खोलेर छोडिदिएपछि ३ वटा खसी हराएको गुनासो गरे ।

काभ्रेबाट खसी विक्री गर्न आएका व्यापारी कालबहादुर शाहले बिहान खसी ल्याएर बाँधेको र महानगरका कर्मचारी आएर यहाँ नराख भन्दै बाँधेका खसीहरु फुकाएर केही पर लगेर छोडिदिएपछि खसीहरु हराएको गुनासो गरे । उनले विपद्को बेलामा दिनरात नभनि हिँडेर ल्याएका खसीहरु हराउँदा दशैँ नै खल्लो भएको बताए ।

उनले भने,‘यहाँ खसी बाँधेका थियौँ, बाँधेपछि लल गइहाल, लैजाओ भन्यो । हामीले लगेनौँ । उहाँहरुले आएर सबै डोरी फुत्काएर छोडिदिनुभयो । नगरपालिकाको कर्मचारीहरुले त्यसो गर्नुभयो । ३ वटा खसी हराए । त्यस्तो भयो, अब के गर्न सकिन्छ र ? हामी बिहान ४ बजे आइपुगेका हौँ । खसि निकालेर बाँधेका थियौँ । त्यस्तो गरिदिए ।’

काभ्रेपलाञ्चोककै अर्का खसी व्यापारी कृष्णप्रसाद पाण्डेले गत सालको भन्दा यस वर्ष सस्तोमा खसी बेचिरहेको बताए । उनले गाउँमा अहिले खसी महंगो रहेको तर शहरमा सस्तो रहेको बताए । उनले सडक अवरुद्ध हुँदा ल्याउन गाह्रो भएको बताउनु भयो । उहाँले अहिले जिउँदो खसीको प्रतिकिलो ६५०/६६० मा बेच्दा पनि नकिनेको गुनासो गरे ।

उनले भने,‘पोहोरको भन्दा अहिलेको स्थितिमा गाउँमा महंगो, यहाँ सस्तो छ । पोहोर ६५०/६६० मा बेचेका थियौँ । अहिले त्यत्तिमै दिँदा पनि लैजाँदैनन् । सडक अवरुद्ध हुँदा ल्याउन गाह्रो भयो । भाडा पनि डबल पर्‍यो । यहाँबाट फर्काएर लगे हामीले खाल्डामै हाल्नुपर्छ । विक्री त जसरी भए नि सिध्याएर जानुपर्छ । तर घाटा खाएर बेच्नुपर्ने भयो ।’

अर्का काभ्रेपलाञ्चोक जिल्लाकै खसी व्यापारी सोनाम मोक्तानले बजारमा भाउ नरहेको बताउनु भयो । उहाँले उपभोक्ताहरु किन्न नआएको गुनासो गरे । उनले ल्याउँदा तीन दिन हिँडाएर र १५ हजार भाडा तिरर ल्याउनुपरेको बताए ।

उनले भने, ‘बजारमा खासै भाउ छैन, पहिलाको जस्तो, बेच्न पाएको छैन । बाढी, पहिरो खसेको छ, सहज छैन, ल्याउन । ३ दिन हिँडाएर ल्यायौँ काभ्रेका महाभारतबाट । लगभग १५ हजार भाडा लाग्यो । बजारको रेटमै बेचेका छौँ ।’

यता उपभोक्ता मानबहादुर श्रेष्ठले गत सालको भन्दा यस वर्ष अझै महंगो भएको गुनासो गरेका छन् । उनले भने,‘महंगो रहेछ, आवश्यक परेपछि किन्नैपर्‍यो ।’ दशैँ अगाडिको मनसुनजन्य विपत्तिका कारण यस वर्षको दशैँ उल्लासमय बन्न सकिरहेको छैन । विपद्का कारण सडक आवागमन कतिपय स्थानहरुमा अवरुद्ध हुँदा दशैँका लागि काठमाडौं भित्रिने खसी,बोका, च्याङ्ग्राहरु कम आएको बताइरहेको बेलामा काठमाडौंमा आएका खसीबोका पनि विक्री नभएको व्यपारीहरुको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर