अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु
गएको असोज १० गतेदेखि अविरल परेको बर्षाले अवरुद्ध बनेको कान्तिलोकपथ मार्ग नेपाली सेनाले खुलाएको छ।
अविरल वर्षापश्चातको बाढी तथा पहिरोका कारण मकवानपुर जिल्ला, भीमफेदी गाउँपालिका-८ महादेवटार र ललितपुर जिल्ला, वाग्मती गाउँपालिका-२ वगुवास्थित वाग्मती खोलामा रहेको पुलको केही भाग बगाएपश्चात् अवरुद्ध भएको कान्तिलोकपथ मार्गमा असोज २१ गते रातिदेखि सवारी आवागमन सुचारु भएको छ।
उक्त लोकपथ मार्गमा सवारी आवागमन सुचारु गर्न नेपाली सेनाले अन्य निकायको सहयोगमा काम गरेको थियो।
सेनाले २ स्थानमा करिव ८०० मिटरको बाँध निर्माण गरी बागमती नदी डाइभर्सन तथा च्यानल निर्माण गरेको थियो। सेनाले ३२० मिटर लम्बाइको नयाँ ट्रयाक निर्माण गरेको छ।
बागमती नदीमा करिव ४० मिटर लम्बाइको र्याम्प निर्माण गरी पुलसम्म नेपाली सेनाले सडक जोडेको छ। सेनाले ग्याबिन बक्स तथा बागमती नदीमा ह्युम पाइप राखी अस्थायी सडक बनाएको र कान्तिलोकपथको अन्य विभिन्न खण्डमा पहिरो पन्छाउने कार्य गरेर सडक खुलाएको हो।
प्रतिक्रिया