व्यापारीको गुनासो : सोचे जस्तो व्यापार छैन

‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्’ न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर ग्राहकको सङ्ख्या भने पातलो छ ।

दशैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यस पटक भने राम्रो व्यापार नभएको उनको अनुभव छ ।  उनी भन्छन्, ‘दुई/चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर   यसपाली व्यापार कम छ ।’

पर्वको मुखैमा प्राकृतिक विपत्को असर बजारमा देखिएको उनको भनाइ छ ।  यद्यपि फुलपाती सुरु भएपछि व्यापार बढ्छ की भन्ने उनको झिनो आशा छ ।

दसैँमा किनमेलका लागि न्युरोडमा भेटिएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्त्वपूर्ण लाग्छ । चिसो मौसम सुरु भएकाले उनी दशैँमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्छिन् । ‘आफ्नो भन्दा छोराछोरीलाई दशैँमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ’, उनले भनिन्।

ठमेलमा किनमेल गर्न पुगेका गोपाल बुढाथोकीले यस पाली मूल घर सर्लाही नजाने बताउँछन् । बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उनले बताए।

‘काठमाडौँमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दसैँ मनाउने सोचमा छौँ’, उनले भने, ‘किनमेल पनि भर्खरै सुरु हुँदै छ ।’ उनले जाडोको लुगा भने दशैंको पर्व छोपेर खरिद गर्ने गरेको बताए। पर्वमा भारी छुट पाउने हुँदा उनलाई आवश्यक सामग्री किन मन पर्ने सुनाउँछन्।

काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दसैँमा किनमेलमा खासै जोड नदिएको बताइन् । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आएकी उनले सामान्य खर्चमा दसैँ टार्ने योजना रहेको सुनाइन् । गाउँ बाढीका कारण तहसनहस भएपछि उनलाई यसपालिको दसैँ मनाउने जाँगर चलेको छैन । दसैँ पनि काठमाडौँमै मनाउने योजना रहेको  सुनाइन् । ‘आफन्त सबै दुःखमा छन्, दसैँ मनाउनु कसरी ?’, उनले भनिन् ।

भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताए ।
कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उनको अनुभव छ । ‘मान्छेहरूको चहलपहल त छ, तर व्यापार सोचे जस्तो छैन’, उनले सुनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *