डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा रहेको बताएका छन् ।

नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अप्रेशन सेन्टरमा अनुगमन एवं निरीक्षणका क्रममा उहाँले डिजिटल नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकाले मन्त्रालयले सोहीअनुसार डिजिटल नेपालका लागि नीति बनाउन छलफल प्रारम्भ गरिसकेको बताए । उनले डिजिटल नेपाल सफल पार्न महत्वपूर्ण भुमिका एनटिसीले निर्वाह गर्नुपर्ने भन्दै डिजिटल नेपालको लागि पूर्वाधार विकास गर्न निर्देशन दिए । उनले स्थानीय तह, प्रदेश र केन्द्र सरकार तीन तहकै सरकारले डिजिटल नेपालको फ्रेमवर्कलाई प्राथमिकतामा राखे आम नागरिकहरुले सरकारी सेवा सुविधान लिन कठिनाइ भोग्नु नपर्ने बताए । १० ठाउँमा चहार्नुपर्ने अवस्था डिजिटल नेपालपछि अन्त्य हुने र एकै ठाउँबाट सबै कामहरु गर्न सकिने उल्लेख गरे । उनले खर्चको कमी र भ्रष्टाचारको अन्त्य पनि डिजिटल नेपालबाटै सम्भव रहेको बताए ।

उनले भने, ‘अहिले प्रधानमन्त्रीज्युले विशेष चासो र महत्व दिनुभएको भनेको डिजिटल नेपाल पहिलो एजेण्डा हो । डिजिटल नेपालको लागि मैले अहिले पोलिसीको बारेमा छलफल चलाइरहेको छु । डिजिटल नेपाल सफल पार्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने भनेको हाम्रै संस्था हो । यसको पूर्वाधार जति बलियो हुँदै गयो, त्यसैले हामीले त्यो काम चाँडै सम्पन्न गर्नुपर्छ । यसको क्षमता र गुणस्तर जति बढ्दै गयो, यसको कभरेज जति बढ्दै गयो त्यति नै राम्रो हो । यसले पहिलो कुरा खर्च घट्छ र दोस्रो कुरा करप्शन हुँदैन । पहिलो चरणमा यो पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, सरकारी क्षेत्र, बिजनेस, एआईको पनि पोलिसी बनाउँदैछौँ । जेजे भनेपनि पूर्वाधार सम्बन्धी काम त यसकै हो । यसको पूर्वाधार तयार बनाउने भनेको टेलिकमकै हो । डिजिटल नेपालको पहिलो आयाम कहाँबाट शुरु गर्ने भन्दा सरकारी क्षेत्रबाट शुरु गर्नुपर्छ । उपत्यकाको मन्त्रालय, सरकारी कार्यालय, विभागमा इ गभर्मेण्ट शुरु गर्नुपर्छ । सात प्रदेश, ७५३ स्थानीय तहहरु छन् । वडाहरु छन् । प्रत्यक्ष रुपमा जनतासँग सम्बन्ध हुने स्थानहरुमा हामीले डिजिटल नेपालको प्रारम्भ गर्नुपर्छ । इगभर्मेण्ट्समा जानसके खर्च घट्छ, १० ठाउँमा जानुपर्नेमा एक ठाउँबाटै सकिन्छ । त्यसको लागि पूर्वाधार टेलिकमले पु¥याइदिनुपर्छ ।’

उनले प्रत्यक्ष रुपमा जनतासँग जोडिने ठाउँमा डिजिटल नेपालको प्रारम्भ सबैभन्दा पहिला गर्नुपर्ने बताए । गत असोज १२ र १३ गते देशभर अविरल वर्षाका कारण भएको नेपाल टेलिकमको क्षतिबारे बुझ्न मन्त्री गुरुङ शुक्रवार टेलिकममा पुगे । टेलिकमका कर्मचारीहरुले उहाँलाई बाढी, पहिरो र डुबानले तराई, पहाड र हिमाली क्षेत्रमा भएको क्षतिबारे जानकारी समेत गराएका छन् । बाढी, पहिरो र डुबानले देशभर ठूलो जनधनको क्षति भएको छ । मन्त्री गुरुङले टेलिकमको टावरहरु भएको क्षति र नेटवर्कको समस्याबारे पनि जानकारी लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *