च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म

उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको उनले सुनाए ।

मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुगेका उनका साथमा दुई साथी पनि थिए । लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दसैँको मुखमा च्याङ्ग्रा बेच्न लुम्ले आइपुगेका हुन् । च्याङ्ग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ ।

लामाले दसैँमा च्याङ्ग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलोपटक भने होइन । विगत एक दशकदेखि नियमित जसो च्याङ्ग्राको व्यापार गर्न उनी मुगुबाट यहाँ आउँछन् ।

‘यसपाली दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ’, उनले भने । लामो समयदेखि यहाँ आइ च्याङ्ग्रा बिक्री गर्दै आएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ । मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उनले १८ वटा च्याङ्गा बिक्री भइसकेको बताए ।

लामाभन्दा अगाडि केही व्यापारीले च्याङ्ग्रा पोखरा पुर्‍याइसकेका छन् । अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्याङ्ग्राको माग बढेको उनको अनुभव छ । यही असोज २२ सम्म सबै च्याङ्ग्रा बिक्री गरेर गाउँ फर्कने उनको योजना छ ।

मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्याङ्ग्रा व्यापारमा वर्षौं बिताएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको बताए । उनले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्याङ्ग्रा ल्याउँछन् ।

‘दसैँको बेला पोखरामा बस्ने दाजुभाइहरूले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरूलाई मासु खुवान पाउँदा हामीहरूलाई पनि खुसी लाग्छ’, लामाले भने, ‘राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने ?, केही न केही काम त गर्नुपर्‍यो ।’

अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब १० देखि १२ हजारले मूल्य घटाएको लामा बताउँछन् । लामाको व्यवसायिक साझेदार हुन् मुस्ताङका कर्मा लामा । उनले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताए ।

यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिए । आफूहरूले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई ४२ हजारमा दिने गरेको उनी बताउँछन् ।

कर्मा भन्छन्, ‘देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्न सक्छ तर तुलनात्मक रूपमा पोखरासम्म ल्याउँदा त्यस्तो महँगो होइन, पोहोर सालको दसैँमा ४८/५० हजार भन्थे अहिले ३८/४० हजारमा पाउनुहुन्छ, गाउँमा भन्दा शहर बजारमा च्याङ्ग्राको माग बढी हुने हुँदा हामीहरूले हिमालमै पुगेर ल्याउने गरेका छौँ ।’

दसैँका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । यस वर्ष पनि धेरैको सङ्ख्यामा व्यापारी मुस्ताङ पुगी च्याङ्ग्रा लिएर बजार पुग्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *