बाढी पीडितलाई स्थानीयको ढाडस– दैनिक तीन सयलाई खाना खुवाउँछन्

असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौँ उपत्यकासहित देशभरका नागरिकहरूको जनजीवन अस्तव्यस्त छ । कतिपयको वासस्थान नै बगाएको/डुबानमा परेको छ ।

जसकारण पनि आम नागरिकहरूको जनजीवन प्रभावित छ । काठमाडौँ उपत्यकामा बागमती, हनुमन्ते खोला, ललितपुरको नख्खु खोलाले बगाएर धेरै मानिसहरूको ज्यान गएको छ । नख्खु खोलाले घरवास बगाएर पीडित नागरिकहरू अहिले पनि खान र बस्नका लागि भौँतारिरहेका छन् । गाँसबासको टुंगो नहुँदा स्थानीहरू मिलेर उनीहरूलाई खान र बस्नको व्यवस्था गरिरहेका छन् ।

गत आईतवारदेखि ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित नख्खु खोला आसपासका पीडितहरूलाई स्थानीहरू मिलेर दुई छाक नै खाना खुवाइरहेको २५ नम्बर वडाका वडाध्यक्ष दौलतकुमार खत्री बत्ताउँछन् । उनले सहयोगी दाताहरूले एकद्वारा प्रणालीबाट वडामा आइ सहयोग गरिरहेको र सोही सहयोगबाट पीडितहरूलाई खाने र बस्ने स्थानको व्यवस्था गरिएको बताए ।

उनले २५ नम्बर वडामा २५० जनाको गाँसबास बाढीका कारण खोसिएको बताए । उनले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले पनि समन्वयपूर्ण काम गरे सहज हुने विश्वास व्यक्त गरे । बाढीले घरहरू बगाएसँगै सरकारले दिएको राहत राख्ने ठाउँ नै नभएपछि पनि समस्याहरू सिर्जना भइरहेको बताए ।

उनले भने ‘यो हप्ताको आईतवारदेखि आज ६ दिनभयो, बिहान बेलुका अविरल वर्षाबाट पीडितलाई खाना खुवाइरहेका छौँ । सहयोगी दाताहरूले एकद्वारा प्रणालीबाट हामी खुवाउँछौँ भनेकाले लगातार खाना खुवाइरहेका छौँ । यो वडामा २५० जना जतिको गासवास बाढीका कारण खोसिएको छ । २ जनाको मृत्यु भयो, यो वडाबाट ।’

ललितपुर महानगरपालिका २५ नम्बर वडाकी महिला सदस्य सपना ठकुरीले स्थानीयहरू मिलेर पीडितलाई खाना खुवाइरहेको बताइन् । उनले दैनिक तीन सय जति मानिसहरूलाई खाना खुवाएको बताइन् । पीडितलाई खाना खुवाउन विभिन्न संस्थाहरूले सहयोग गर्नुभएको र बस्नका लागि सरकारी भवन, बालकुमारी मन्दिर लगायतमा राख्ने गरिएको बताइन् ।

उनले भनिन् ‘वडाको तर्फबाट भन्दा पनि आईतवारदेखि आफैँ मिलेर खाना खुवाइरहेका छौँ । तीन सय जति मानिसलाई खाना खुवाइरहेका छौँ । विभिन्न संस्थाले सहयोग गर्नुभएको छ । सरकारी भवन, बालकुमारी मन्दिरहरूमा बस्नुभएको छ । कतिपय साथीहरुकोमा गएर बस्नुभएको छ ।’

नेपाली काँग्रेस ललितपुर महानगरपालिका वडा नम्बर २५ का सभापति रविचन्द्र ठकुरीले महानगरपालिकाले पीडितको राहत र उद्धारमा राम्रो काम गरिरहेको बताए । उनले अहिले पनि बिस्थापितहरुलाई बस्न र खानको व्यवस्था स्थानीय मिलेर गरेको बताए ।

उनले भने ‘महानगरपालिकाले राम्रो उद्धार र राहत गरिरहेको छ । अहिले पनि बिस्थापितहरुलाई बस्न र खानको व्यवस्था गरेको छ ।’

गत असोज १२ र १३ गतेको अविरल वर्षाका कारण देशभर नै ठुलो जनधनको क्षति भएको छ । हजारौँ मानिसहरु विस्थापित भएका छन् । अझै पनि मनसुन सफा भइसकेको छैन । त्यसैले विज्ञहरूले सतर्कता अपनाउन सुझाव दिइरहेका छन् । साथै चिकित्सकहरूले विपद्पछि स्वास्थ्यमा पनि ठुलो समस्या आउनसक्ने भन्दै पानी सफा खान र तताएर मात्रै प्रयोग गर्न आग्रह गरेका छन् । सरकारले पनि आवश्यक सावधानी अपनाएर यात्रा गर्न, स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर