हवाई यातायातको भाडादरलाई न्यायोचित बनाउँछौँ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले हवाई यातायातको भाडादरलाई न्यायोचित बनाउने बताएका छन् ।

हवाई यातायातको भाडा ह्वात्तै बढाएको भन्दै यात्रुहरूले सरकारको आलोचना गरिरहेका बेला उनले चाडपर्व र विपत्तिको बेला यस क्षेत्रको भाडादरलाई न्यायोचित बनाउने कुरामा सरकारले सम्बन्धित पक्षसँग निरन्तर छलफल गरिरहेको बताएका हुन् ।

नेपाल हवाई यातायात नियन्त्रक संघले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई यातायातमा भाडा बढेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई न्यायोचित र तर्कपूर्ण बनाउने कुरामा सरकार गम्भीर भएर लागि परेको बताए । उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले हवाई यातायातको क्षेत्रलाई सहज र सुलभ बनाउन चाहेको पनि बताए ।

नेपालमा हवाई उडानको क्षेत्रको सम्भावना बढेर गएको स्पष्ट पार्दै त्यसलाई सहज बनाउने कुरामा पनि सरकार लागि परेको मन्त्री पाण्डेको भनाई थियो ।

उनले भने ‘अहिले विपत्ति र चाडपर्वसँगै आएका बेलाकाले यहाँहरूमाथि चाप पनि परेको छ । नागरिक उडडयनप्रति चाप पनि परेको छ । त्यसलाई सहज बनाउने दिशामा भाडा बढेको कुरादेखि लिएर विभिन्न विषयहरू आएका छन् । यसलाई कसरी न्यायोचित बनाउने ? कसरी यसलाई तर्कपूर्ण बनाउने ? कसरी निजनेबल बनाउने ?भन्ने कुरामा मन्त्रालय सुरु नै दिनदेखि ११/१२ गते ठुलो भीषण वर्षा भयो । हामीले १२ गते नै मन्त्रालयका आकस्मिक बैठक बसेर तत्काल निकायहरूलाई निम्त्याएर, तत्काल क्षेत्र र सरोकारलाई निम्त्याएर हामी काम गरिरहेका छौं । र यो निरन्तर छ । अहिले पनि हामीले एयरपोर्ट सम्बद्ध ट्याक्सी व्यवसायीहरूसँग पनि बसेर छलफल गरेका छौं । राति प्लेन आउँछ । बिहानै प्लेन चढ्न आउनुपर्दछ । त्यसका लागि के सहजीकरण गर्न सक्नुहुन्छ ? कसरी यात्रुलाई सुविधा दिन सक्नुहुन्छ भनेर हामीले एयरलाइन्स, हेलिकप्टरसँग सम्बन्धित संस्थाहरूसँग पनि कुरा गरिरहेका छौं । यात्रुहरूलाई सहज र सजिलो बनाउने विषयमा छलफल गरिरहेका छौं ।’

त्यस अवसरमा मन्त्री पाण्डेले नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश दिने गरी काम गर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर