छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने

छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ ।

त्रिभूवन विश्व विद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) ले गर्न लागेको सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुनेछन् । शुक्रवार जनसंख्या अध्ययन केन्द्रीय विभागले पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर १२ देखि १५ गतेसम्म छैटौं एशियाली जनसंख्या सम्मेलन हुन लागेको जानकारी गराएको हो ।

८ सय बढी प्रतिनिधि सहभागी हुने यो सम्मेलनमा एशियाका विभिन्न देशका जनसंख्या विज्ञहरुले १७ वटा थिममा आधारित भएर करिव ४ सय भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गर्ने भएका छन् । मुख्य रुपमा विश्वको जनसाङ्ख्यिक परिदृश्य, जनसाङ्ख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसंख्याका अवसर र चुनौतिहरु आदिमा केन्द्रित रहेर कार्यपत्रहरु प्रस्तुत गरिनेछन् ।

सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि सञ्चालन हुने सम्मेलन आयोजक समितिका संयोजक तथा त्रिभूवन विश्व विद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग प्रमुख प्राध्यापक डाक्टर योगेन्द्रबहादुर गुरुङले बताए ।

विश्वभर जनसंख्या संरचनामा भइरहेको परिवर्तन र स्थानान्तरणले नेपाल जस्ता धेरै देशले विकास र सामाजिक सेवाका क्षेत्रमा लिइरहेका नीतिको बारेमा पनि गहन छलफल हुने बताइएको छ । यस सम्मेलनले सरकारलाई आवश्यक नीति तर्जुमा गर्न महत्वपूर्ण पृष्ठपोषण दिने जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक उद्धव सिग्देलले बताए ।

जनसंख्या र विकासका सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने यो महत्वपूर्ण अवसर रहेको जनसंख्या अध्ययन केन्द्रीय विभागले बताएको छ । नेपालको विकासका एजेण्डालाई थप प्रवर्द्धन गर्न प्रमाणमा आधारित विकासका योजना बनाउन बढावा दिने अपेक्षा सम्मेलनले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर