बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?

गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ ।

पढाइमा निकै मेहनती महतोले बाढीले घरमा भएका सबै पुस्तक बगाएको गुनासो गरे । आफू पढ्ने गरेको श्री प्राथमिक विद्यालय डुबाएपछि उनी थप चिन्तामा छन् । ‘स्कुलले दिएको पुस्तक नयाँ नै थियो, बाढीले बगाएर लग्यो । अब फेरि स्कुलले दिने हो कि होइन ?’, उनलाई चिन्ता छ ।

विपन्न परिवारका महतोलाई किताब किनेर दिन सक्ने अवस्थामा परिवार छैनन् । बाढी र डुबानले घरमा पनि पूर्ण क्षति पुर्‍याएको छ । रामकुमारसँगै अध्ययन गर्ने साथी वीरेन्द्र पनि विद्यालयको कपी किताब बगाएको गुनासो गर्न आइपुगे । ‘मेरो त स्कुलको पोशाकसमेत बाढीले लगेछ’, उनले भने, ‘अब स्कुल कसरी जाने ? बुबाआमासँग किन्न पैसा नभएको उनको गुनासो थियो ।’

शनिबार पसेको बाढीले उनीहरू जस्तै हजारौँ बालबालिकाको शैक्षिक भविष्य अन्योलमा परेको छ । अधिकांश विपन्न परिवारका बालबालिकाको विद्यालयका पुस्तक, पोशाकलगायत सामग्री बाढीमा डुबेको छभने केहीको बाढीले बगाएको छ । विद्यालय पानीमा डुबेका कारण कहिलेसम्म स्कुल जान नपाइने हो ? भन्ने चिन्ता बालबालिकाले व्यक्त गरिरहेका छन् ।

बाल कक्षामा धेरै क्षति

जिल्लाको रामनगर गाउँपालिका र बलरा नगरपालिकामा गरी दुई दर्जन बढी विद्यालयमा पानी पसेर क्षति गरेको छ ।

अधिकांश विद्यालयमा बाल विकास कक्षामा पानी पसेर क्षति गरेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाले जानकारी दिए । ‘बालबालिकाको सुविधाका लागि ठूलो रकम खर्च गरेर ओच्छाएको कार्पेट, म्याटलगायत सामान पूर्ण रूपमा काम नलाग्ने भएका छन्’, उनले भने – सिकाइ सामग्रीसमेत बगाएका छन्, बाँकी पनि काम लाग्ने अवस्थामा छैनन् ।

नगरको वडा नं १, २, ३ र ४ का प्राथमिक विद्यालयमा चारदेखि पाँच फिटसम्म पानी जमेको नगरप्रमुख कुशवाहाले जानकारी दिए । विद्यालयमा पानी जमेका कारण बालबालिकाको पठनपाठन नै प्रभावित बनेको बलरा नगरपालिका–१ स्थित प्राथमिक विद्यालय सेडवाका प्रधानाध्यापक जङ्गबहादुर सहनीले बताए । उनले भने –अहिले चाडबाडको छुट्टी छ, तर महिनौँसम्म पठनपाठन हुने अवस्था छैन ।

विद्यालयसम्म पुग्न सकिने अवस्था नरहेको स्थानीय विनय यादवले बताए । विद्यालय डुबानमा पर्दा विपन्न दलित, मुसहरलगायत समुदायका बालबालिका मर्कामा परेका हुन् । शैक्षिक सामग्रीसमेत बगाएका कारण बालबालिकासँगै अभिभावक समेत चिन्ता व्यक्त गरिरहेका नगरप्रमुख कुशवाहाले बताए ।

पालिकाले समेत क्षति विवरण सङ्कलन गरेर व्यवस्थापन गर्ने प्रयास गरिरहेको उनले जानकारी दिए । सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग यस विषयमा सहयोगका लागि अपिल गरिएको उनले बताए । नगरप्रमुख कुशवाहका अनुसार विभिन्न वडाका गरी १८ वटा विद्यालय डुबानमा परेका छन् । सबै विद्यालयमा फेरि बालबालिकाका लागि बसाइ व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।

यस्तै रामनगर गाउँपालिकामा पनि विभिन्न वडामा गरी नौवटा विद्यालयमा बाढी पसेर डुबाएको छ । विद्यालय पूर्ण रूपमा क्षति नभए पनि आंशिक क्षति पुगेको पालिका अध्यक्ष राजाबाबु यादवले बताए । विद्यालयसम्म पुग्ने अवस्था नहुँदा तत्काललाई पर्व बिदा दिइएको उनको भनाइ थियो । ‘अहिले पठनपाठन गर्न सक्ने अवस्था छैन”, उनले भने – पर्व पनि परेकाले बिदा दिएका छौँ, अब पानी सुकेपछि पठनपाठन सुरु हुन्छ ।

बाढीले शैक्षिक सामग्री बगाएको र लामो समय विद्यालय जाने क्रम रोकिँदा बालबालिका फेरि विद्यालय बाहिर पुग्ने चिन्ता रहेको उनको भनाइ थियो । अर्कातर्फ विद्यालयको अवस्था पूर्ववत बनाउन ठूलो धनराशि खर्च गर्नुपर्ने अध्यक्ष यादवले बताए ।

बल्लतल्ल विद्यालय आउन बानी परेका उनीहरू फेरि नआउने हुन् कि ? भन्ने चिन्ता विद्यालयका शिक्षकशिक्षिकाले समेत व्यक्त गरेका छन् । बाढी तथा डुबानका कारण जिल्लामा ठूलो क्षति पुगेको हुनसक्ने शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए । पालिकाहरूसँग क्षति विवरणका लागि ताकेता गरिरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *