बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

ललितपुरको लगनखेलबाट करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६, आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेको सम्झनामा मात्रै छ ।

‘लहलह झुलेर मनमोहक देखिएका धान भित्र्याउने बेला भइरहेको थियो, बिहीबार रातिदेखि परेको पानीपछि उर्लिएर आएको बागमतीले त्यो सबै सखाप गर्‍यो । सात हजार मुरी धान फल्ने सबै खेत खाइदियो, सबै खेत बगर बनाइदियो’, उनी भन्छन् । दसैँअघि थन्क्याइसक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि आश्रङका किसान निरास छन् । यहाँको फाँटमा करिब १५ सय रोपनीजति खेत रहेको वडाध्यक्ष नारायण भोम्जन बताउँछन् ।

‘धानसहित खेत लगिहाल्यो, सबैतिर बाटो बन्द छ, बिरामी हुँदा अस्पताल लैजानसक्ने अवस्था छैन, सबैको घरमा रासन सकिन लाग्यो । सबैतिर बेहाल छ’, अध्यक्ष भोम्जनले भने, ‘वडामा क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । तत्कालै राहत दिनुपर्ने नौ परिवार छन्, सुकुम्बासी बस्तीका पाँच घर बगायो, अरु पाँच घर पनि चर्केका छन्, बस्न मिल्दैन । यहाँ दुई दर्जनजति निजी घरमा क्षति पुगेको छ ।’

बागमती गाउँपालिकाको वडा नम्बर १, २, ४, ६ र ७ बागमती नदी किनारमा पर्छन् । यहाँका अरु वडामध्ये आश्रङले धेरै क्षति ब्यहोर्नुपरेको छ । अविरल वर्षासँगको बाढीले वडा नम्बर ५ इकुडोलको पक्की पुल बगाएको छ । गाउँपालिकाबाट वडा कार्यालयसम्म पुग्ने सडक ५० भन्दाबढी स्थानमा भत्किएको छ । कलवन भन्ने ठाउँमा स्थानीय रणबहादुर दर्लामीको घर खोलाले बगाएको छ ।

यस्तै, कान्तिलोकपथको बगुवाको सवारीसाधन आवतजावत गर्ने पुल नै बागमतीले बगाएको छ । वर्षाले निम्त्याएको विपत्तिका कारण ललितपुरको दक्षिणी भेगमा रहेका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन बनेका छन् । विपत्तिका कारण महाँकाल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजन र मानवीय क्षति ब्यहोर्नुपरेको राहत र उद्धारका लागि सञ्चार समन्वय नहुँदा समस्या भइरहेको छ । यहाँका बिरामीलाई उपचारका लागि लिनुपर्दा हेलिकोप्टरको प्रयोग बाध्यात्मक बनेको छ । त्यसैले त आइतबार र सोमबार हेलिकोप्टरबाट प्युटार र गोटीखेलबाट बिरामीलाई पाटन अस्पताल पुर्‍याइयो । बुधबार हेलिकोप्टरबाट राहत सामग्री पनि ल्याइएको थियो ।

‘लेले चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द छ, विद्युत्‌का खम्बाहरू ढलेका छन् । जसका कारण पाटनबाट गाउँपालिकासम्म आउन असहज भएको छ’, महाँकाल गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले भने । बाढीपहिरोबाट गोटीखेलको हिलसाइज अङ्ग्रेजी माध्यमिक विद्यालय, वैतर्णीधाम मन्दिर, वन कार्यालय भवन, टुङ्गन इलाका प्रहरी चौकी बगाएको छ । अवरुद्ध रहेको कान्तिलोकपथ खुलाउनका लागि डोजर प्रयोग गरेर सडक सफा गर्ने काम भइरहेको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए ।

‘अहिले तीनपाने भञ्ज्याङसम्म एकतर्फी सडक सञ्चालन हुन्छ, डोजर प्रयोग गरेर सफा गर्‍यौँ, अब छपेलीसम्म सफा हुन्छ’, उनले भने । ठोस्ने खोलामा आएको बाढीका कारण कोञ्ज्योसोम गाउँपालिकाका–३, दल्चोकीको सिलिङ्गेबेसी २२ वटा घर बगाएको उपाध्यक्ष राजनप्रसाद घिमिरेले जानकारी दिए । ‘पालिकाभित्र ४० घर बगाएको र पुरिएको छ, वडा नम्बर २ शङ्खुमा चार घर, सिलिङ्गेबेसीमा २२ घर र वडा नम्बर १ चौघरेमा एक घर क्षति भएको छ । तीन जनाको ज्यान गएको छ’, उनले भने ।

दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका बाढीपहिरोमा परेर १३ जनाले ज्यान गुमाएको र अझै पाँच जना बेपत्ता रहेको महाँकाल गाउँपालिका उपाध्यक्ष डोल्मामाया लामाले बताइन् । ‘बाढीपहिरोले मानवीय क्षतिका साथै धेरै भौतिक क्षति भएको छ, शुक्रबारदेखि कार्यालय खुल्न सकेको छैन, प्रमुख प्रशासकीय अधिकृत नै पालिका कार्यालय पुग्न सक्नुभएको छैन’, उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *