यातायात सञ्चालन सहज बनाउन गृहमन्त्री लेखक र यातायात व्यवसायीबीच छलफल

गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीहरूसँग छलफल गरेका छन्।

बाढी पहिरोका कारण अवरूद्ध यातायात सञ्चालनलाई सहज बनाउन गृहमन्त्री लेखकले बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनसँग छलफल गरेका हुन्।

बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित सञ्चालनका बारेमा यातायात व्यवसायी, यातायात मजदुर संघ÷संगठनका पदाधीकारीहरुबीच विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका बेला सुरक्षित यात्राका विषयमा सकरात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

‘विपद्को स्थितीमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ,’ वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘बीपीराजमार्ग अन्तर्गत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ।’

गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरुलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएको सिटौलाले बताए।

‘अवरुद्ध यातायात सञ्चालदेखि मजदुरलाई राहत र चाडपर्वका बेला सुरक्षित यात्रालगायतका विषयमा छलफल भयो,’ उनले भने, ‘हामीले सवारीचेकजाँचलगायतका विषयमा पनि मन्त्रीज्यूसित आफ्नो कुरा राखेका छौं।’

मन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्वन्धीत मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मी समेत सक्रिय रहेको बताए।

‘पृथ्वी राजमार्गको झ्याप्लेलगायत पहिरोको जोखिम रहेका क्षेत्रमा ट्राफिक र प्रहरी परिचालन गरिएको छ,’ उनले भने,‘ चाडबाडका बेला आएको विपद्को सामना गर्दै सहज र सुरक्षित यात्राका लागि गम्भीर भएर लागेका छौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर