सवारीसाधनको चाप हुने बिपी राजमार्ग सुनसान

यातायातका साधनले व्यस्त हुने विपी राजमार्ग यतिबेला सुनसान जस्तै छ । राजमार्ग  छेउका होटल व्यवसाय ठप्प जस्तै छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले राजमार्गमा ठूलो क्षति गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।

सिन्धुलीसहित पहाडी जिल्ला र पूर्वी नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको राजमार्ग बाढीपहिरोले क्षतविक्षत छ । रोशी र सुनकोसी नदीमा आएको बाढीले कतै सडक बगाएको छ, कतै सडक भासिएको छ । कतै चिराचिरा परेको छ ।

गोलञ्जोर गाउँपालिकाको माथिल्लो बारादेखि नेपालथोक दुम्जासम्मको सडकमा मात्रै ४० ठाउँमा लेदोमाटो, गेग्रान र ढुङ्गामाटो खसेको छ । नेपालथोक दुम्जा, टुप्पीडाँडा, कमेरेफाँट झाँगाझोली रातमाटा, बोहोरेटार, माथिल्लो बारा, तल्लोबारालगायत स्थानमा खसेको पहिरो पूर्ण रूपमा पहिरो हटाउन सकिएको छैन । सडकमाथिबाट खसेको पहिरो थुप्रो लागेको छ ।

राजमार्गका ठाउँठाउँमा सडकमाथिबाट बेलाबेलामा ढुङ्गा, लेदोमाटो झरिरहन्छ । कतिपय भिरका रुखहरू सडकतर्फ नै ढल्किएका देखिन्छन् । जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर बनाइएको राजमार्ग तीन दिनको वर्षाले तहसनहस बनाइदिएको छ ।

महोत्तरीको बर्दिवादेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको कूल एक सय ६० किलोमिटर लामो राजमार्गलाई चार खण्ड (पहिलो खण्ड बर्दिबास–सिन्धुलीमाढी ३७ किमी, दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमी,तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर) मा विभाजन गरेर निर्माण गरिएको थियो ।

यसमध्ये तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर सडकको विभिन्न भागमा बढी क्षति पुगेको छ ।

राजमार्गको दुई खण्ड एकतर्फी सञ्चालन, एक खण्ड खुलाउने प्रयास

बिपी राजमार्गको पहिलो खण्ड बर्दिबास–सिन्धुलीमाढी ३७ किमी बाढीपहिरोले क्षति गरेको थिएन । यो खण्ड दुईतर्फ नै सञ्चालनमा छ । दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमी सडकको माथिल्लो बारा, तल्लो बारा क्षेत्रको सात ठाउँमा सानाठूला पहिरो खसेको थियो । दुई ठाउँमा खसेको ठूलो पहिरो एकतर्फ पन्छाएर सडक सञ्चालन गरिएको छ ।

तेस्रो खण्ड खुर्कोट–नेपालथोकको विभिन्न भागमा कतै पहिरो पन्छाएर र भत्किएको ठाउँमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

कानढुङ्ग्रीमा डाइभर्सन निर्माण 

बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा चिराचिरा परेर सुनकोसी नदीतर्फ धसिएपछि सोही सडकको भित्तातर्फ डाइभर्सन बनाएर एकतर्फी सडक सञ्चालन गरिएको छ । शनिबारसाँझसम्म सञ्चालनमा रहेको सडक आइतबार बिहान कालोपत्रेसहित धसिएर नदीमा खसेको थियो । सोही सडकको भित्तापट्टिबाट ५० मिटर डाइभर्सन सडक बनाएको हो । खुर्कोट–नेपालथोक खण्डको ३२ ठाउँमा माथिबाट खसेको ढुङ्गामाटो पहिरो र लेदोमाटो एकतर्फ पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको छ ।

नेपालथोकमा बगाएको सडक सञ्चालन गर्न रोशी र घ्याम्पे खोलालाई डाइभर्सन गरिँदै

बिपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल खण्डको काभ्रे र सिन्धुलीको सिमाना छेउ नेपालथोक देविस्थानमा रोशी र घ्याम्पे खोलाले बगाएको सडक सञ्चालन गर्न आजदेखि ट्र्याक खोल्ने काम सुरु भएको छ ।

सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारशमणि हमालका अनुसार एस्काभेटरको सहयोगमा खोलालाई पूर्वतर्फ डाइभर्ट गरी अस्थायी ट्र्याक खोल्ने काम सुरु गरिएको हो । बाढी बगाएको एक सय मिटर सडकलाई रोशी खोलालाई डाइभर्ट गरेर अस्थायी ट्र्याक निर्माण सुरु गरिएको उनले बताए ।

उनको अनुसार यो ट्र्याक खुलेपछि काभ्रेको मङ्गलटारसम्म सवारी सञ्चालन हुने र भकुण्डबेंसी देखि रोशी खोलासम्मको १० किलोमिटर क्षेत्रमा बगाएको सडकमा ट्र्याक खोल्नुपर्ने हुन्छ । बर्दिवासदेखि धुलिखेलसम्मको तीन खण्डको ११० किलोमिटर सडकमा यातायात सञ्चालन गर्न सकिने र ५० किलोमिटर पुनः निर्माणको चरणमा रहेको उनले बताए ।

नेपालथोकबाहेक यो खण्डमा छ स्थानमा रोशीको बाढीले कालोपत्रेसहितको सडकमा पूर्ण रूपमा क्षति गरेको छ । नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण क्षति भएको अनुमान छ । सबैभन्दा बढी काभ्रेको चौकीडाँडामा आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ । रोशीगाउँपालिकाको कालढुङ्गा र बोक्सीकुनामा २०० मिटरभन्दा बढी सडकमा पूर्ण रूपमा क्षति भएको छ ।

थली बेसीमा पनि रोशीखोलाले २०० मिटर र नार्के पुल नजिक २०० मिटरको हाराहारीमा सडक रोशी खोलाको बाढीले बगाएको छ । रोशी खोलामा बाढी घटेकाले खोलालाई डाइभर्सन गरेर अस्थायी सडक निर्माण गर्न स्थानीयले सुझाएका थिए ।

विसं २०५० को भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र सडक सम्पर्क टुटेपछि नेपाल सरकारले बिपी राजमार्गलाई वैकल्पिकमार्गका रूपमा विकास गरेको थियो ।

राजमार्ग पूर्ण रूपमा कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ । यद्यपि दसैँअघि नै राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयासस्वरुप जिल्लाका जनप्रतिनिधिसहित सरोकारवाला सबै पक्ष जुटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *