त्रिकोणात्मक टी-२० सिरिज : नेपाल क्यानडासँग चार विकेटले पराजित
त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल घरेलु टिम क्यानडासँग ४ विकेटले पराजित भएको छ ।
किंग सिटीमा नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको हो । क्यानडाका लागि साद बिन जाफर ३३ रनमा अविजित रहे । यस्तै, निकोलस किर्तोनले २६, दिलप्रित बाजवा २५, हर्ष ठाकेरले १९ र नवनित धालिवालले १२ रनको योगदान दिँदा रविन्द्रपाल सिंह २० रनमा अविजित रहे ।
नेपालका लागि सन्दिप लामिछाने र ललित राजवंशीले समान २-२ तथा सोमपाल कामीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि अनिल साहले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, आसिफ शेखले ३० रन जोड्दा गुल्सन झा २३ रनमा अविजित रहे । यसैगरी, कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, करण केसीले ८ तथा कप्तान रोहित पौडेल र कुशल मल्ल समान ४-४ रन जोडे ।
क्यानडाका लागि हर्ष ठाकेरले २ तथा प्रविन कुमार, अखिल कुमार, डिलोन हेलिगर र साद बिन जाफरले समान १-१ विकेट लिए ।
नेपाल यसअघि पहिलो खेलमा क्यानडासँगै १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले ओमानमाथि ३७ रनको जित हात पारेको थियो । त्रिकोणात्मक सिरिजअन्तर्गत अन्तिम खेलम नेपालले बुधबार राति ओमानसँग खेल्दैछ ।
प्रतिक्रिया